काठमाडौं । कोभिड महामारीका कारण रोजगारी गुमाएका होटल क्षेत्रका मजदुरलाई दशैं खर्चको जोहो गर्न होटल संघ नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त कार्यक्रम अघि बढाएका छन् । नेपाल पर्यटन बोर्ड समेतको समन्वयमा मजदुरलाई राहत दिने उद्देश्यले पर्यटकीय क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।
जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कोभिड–१९ का बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको संघले जनाएको छ ।
कार्यक्रमको कार्यान्वयनका लागि होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहको अध्यक्षतामा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रथम उपाध्यक्ष शाहले यस कार्यक्रमको सराहना गर्दै प्रभावित श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए ।
यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको शाहले जानकारी गराए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ९ का वडा सदस्य श्रीराम राईले यस कार्यक्रमको सराहना गर्दै कार्यक्रम सफलताका लागि वडाबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटनबार्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, ट्रेड युनियनको तर्फबाट वंशी भट्टराईले आफ्नो धारणा राखेका थिए । संघका महासचिव साजन शाक्यले कार्यक्रमबाट विश्वासको वातावरण बन्ने बताए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाहले श्रमिकहरुलाई सावेल उपलब्ध गराई कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
प्रतिक्रिया