काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सेयरधनीहरुलाई आकर्षक लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने जनाएको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२.९१ प्रतिशत बोनस तथा ३.०८ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव गरेको हो ।
निर्णय अनुसार बैंकले २ अर्ब १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । १ अर्ब ६४ करोड रुपैयाँ बोनस सेयर र बाँकी ३८ करोड ८२ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको बैंकले जनाएको छ ।
सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि साधारण सभामा पेश हुनेछ । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर १४ अर्ब २१ करोड रुपैयाँ पुग्नेछ । बैंकको १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया