बर्दिया । लुम्बिनी सेरामिक्स लिमिटेडले टायल उत्पादन सुरु गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–८ मा अत्याधुनिक प्रविधिसहित लुम्बिनी सेरामिक्सले ‘लेमिनार भेट्रिफाइड टायल्सको नामबाट टायल उत्पादन सुरु गरेको हो ।
लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालका अनुसार नेपालको पहिलो भेट्रिफाइड टायलको रुपमा उच्च गुणस्तरको भेट्रिफाइड टायल उत्पादन सुरु गरिएको हो । साढे १२ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग निर्माणमा करिब ४ अर्ब रुपैयाँ लगानी लागेको चुरिवालले जानकारी दिए ।
‘हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो टायल उद्योग नै लुम्बिनी सेरामिक्स हो,’ उनले भने, ‘जसले अत्याधुनिक प्रविधिको सहायताले उच्च गुणस्तर र भारवहन क्षमता भएको टायल उत्पादन गर्छ ।’
यसमा झण्डै ३ अर्ब रुपैयाँ विभिन्न बैंकले ऋण लगानी गरेको समेत उनले जनाए ।
करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध यी लेमिनार भेट्रिफाइड टायल घरभित्र र बाहिरका विभिन्न स्थानमा मात्रै नभएर पार्किङका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ । लेमिनार टायल्सले आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१ः२०१८ गरी तीन गुणस्तर प्रमाणपत्र पाइसकेको छ ।
यस उद्योगको दैनिक उत्पादन क्षमता १ लाख ४० हजार वर्गफिट छ । यसमा ३०० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । भर्खर उत्पादन सुरु भएको कारण हाल कच्चा पदार्थ भारतको राजस्थानबाट ल्याइएको छ ।
यसका साथै, टायलको लागि उपयुक्त माटो डडेलधुरामा भेटिएको जानकारी दिँदै कम्पनीले छिट्टै स्वदेशी खानीबाट उत्पादित कच्चा पदार्थ प्रयोग गर्ने योजना बनाएको छ । यो टायलको मूल्य प्रतिवर्गफिट ८० देखि २०० रुपैयाँसम्म मूल्य तोकिएको छ ।
प्रतिक्रिया