Logo

अर्थनीति

एक महिनाभित्र देशभर डिजिटल टेलिभिजन


appharu
   १५ चैत्र २०७४, बिहिबार


सरस्वती ढकाल
काठमाडौं, १५ चैत ।  सरकारले बिहीबारदेखि उपत्यकामा एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन च्यानल बन्द गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर डिजिटल टेलिभिजन पु¥याउने लक्ष्यबमोजिम पहिलो चरणमा उत्पत्यकामा पूर्ण रूपमा एनालग प्रविधिलाई बन्द गराएको हो । मन्त्रालयले पहिलो चरणमा महानगर र उपमहानगर, दोस्रो चरणमा कात्तिक १५ सम्म नगरपालिका र ०७५ वैशाख १५ सम्म सबै गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित टेलिभिजन सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइएको बताएका छन् । “निर्धारित समयसीमा काटेका ठाउँमा अनुगमन टोलीले सेवा बन्द गराएका छौं ।” केबल टेलिभिजन शाखाका प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव संगीता ओझाको टोली बिहीबार अनुगमनमा गएको थियो ।

अनुगमन टोलीले सुविसु, सुदर्शन केबलनेट, सोनिङ केबल नेट, सीईसी, स्काई केबलनेट, स्पेसटाइम केबल नेट, काठमाडौं केबल नेटलगायत १० एनालग केबल नेट सेवाप्रदायक कम्पनीमा अनुगमन गरिएको जनाएको छ । फ्रिक्वेन्सी विभागका प्रमुख नेपालका अनुसार अब उपत्यकामा एनालग प्रविधि पूर्णतः बन्द भएको छ । वैशाख १५ गतेबाट एनालग केबल प्रणालीलाई देशैभर प्रतिस्थापन गरी डिजिटल केबल टीभीमा रूपान्तरण हुनेमा सरकार विश्वस्त रहेको पनि उनले बताए । मन्त्रालयमा हाल १० ओटा डिजिटल केबल टीभी दर्ता भए पनि नेपालमा आठवटामात्र सञ्चालनमा छन् । त्यस्तै, डिजिटल टेरेस्ट्रियल टेलिभिजन ब्रोडकास्टिङमा भने चार कम्पनीले मन्त्रालयमा इजाजतपत्र लिएका छन् ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केबल टेलिभिजन सञ्चालनमा गर्नुपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्यराष्ट्र हो । “एनालगभन्दा डिजिटलमा पिक्चर सफा वा क्वालिटीको आउँछ, त्यतिमात्र नभएर एकै ठाउँमा बसेर सबै प्रकारको इन्कोडिङ र डिकोडिङ मिलाउन सकिन्छ,” प्रवक्ता ढकालले भने । डिजिटलाइजेसन नहुँदा आधिकारिक तथ्यांक आउन गाह्रो भएको छ भने सरकारले पाउनुपर्ने राजस्व पनि पाएको छैन । एनालगबाट डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजारदेखि ४ हजार ५ सयसम्म पर्छ ।

एनालग टेलिभिजन बन्द भएपछि ग्राहकले आफ्नो घरमा अनिवार्य रूपमा सेटअप बक्स राख्नैपर्छ । सेवामा गुणस्तरीयता हुने भएपनि सेटअप बक्सका कारण ग्राहलाई आर्थिक भार भने पर्नेछ । काठमाडांै र विराटनगर महानगरपालिकामा एनालग प्रविधिबाट डिजिटलमा रूपान्तरण भए पनि अरु महानगर र उपमहानगर तथा नगरपालिकामा अनुगमन जरुरी रहेको मन्त्रालयले जनाएको छ ।
एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्ल्च्यिुड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टीभी हेर्न सकिने हुँदा गुणस्तर पनि कम हुन्छ । यो प्रविधि न्यून गुणस्तरीय भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरूले हटाइसकेका छन् । छिमेकी देश चीन र भारतमा समेत एनालग प्रविधि हटाइसेका छन् ।

प्रकाशित : १५ चैत्र २०७४, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह