Logo

बिजनेस होम

सर्लाहीको नवलपुर नयाँ सबस्टेसनः विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने


GDP Nepal
   ७ कार्तिक २०७८, आइतबार


काठमाडौं । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ ।

सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए ।

‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने ।

अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्ने तथा विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने जनाइएको छ । यसबाट सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ ।

सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइने छ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६मा सुरु गरिएको थियो । कोभिड–१९को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए ।

सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह