Logo

अर्थनीति

निर्यात १०९.५ प्रतिशतले बढ्दा समेत व्यापार घाटा उस्तै


GDP नेपाल
   १ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकले ५८.३ प्रतिशत व्यापार घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक तथा वित्तिय प्रतिवेदन अनुसार तीन महिनामा चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात १३.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा कूल वस्तु निर्यात १०९.५ प्रतिशतले बढेको छ। उक्त अवधिमा मुलुकबाट ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकमा निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात घटेको छ।

चालु आवको तीन महिनामा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु मुलुकमा भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३।७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष उक्त अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह