Logo

अर्थनीति

एनआरएनलाई डलर खाता खोल्न दिने बारे छलफल हुँदै : अर्थमन्त्री


GDP नेपाल
   ८ मंसिर २०७८, बुधबार


काठमाडौं ।

गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताउनुभएको हो । ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो, ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।’ एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उहाँले बताउनुभयो ।

मन्त्री शर्माले पछिल्लो समय डिजिटल करेन्सीको कुरा भइरहेको भन्नुहुँदै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताउनुभयो । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उहाँले भन्नुभयो, अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’ पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उहाँले बताउनुभयो । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै उहाँले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । अझै पनि कर कार्यालयको अधिकृत भन्ने बित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्ने बित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्नुहुँदै सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उहाँले बताउनुभयो ।

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिनुभयो । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनैतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताउनुभयो ।

यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । मंगलबार नै राष्ट्र बैंकको कामकारबाही बारे सङ्क्षिप्त जानकारी लिनुहुँदै उहाँले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छफलफल भइरहेको बताउनुभएको हो । ‘विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह