Logo

बिजनेस होम

ढाका कपडा प्रदर्शनी पुस पहिलो साता


GDP Nepal
   १२ मंसिर २०७८, आइतबार


काठमाडौं । नेपालमा स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको ढाकाजन्य उत्पादनको प्रवद्र्घन गर्न सके मुलुककै व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाहरुले बताएका छन् ।

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्घन, बजारीकरण र ब्राण्डिङ गर्ने उद्देश्यले आगामी पुस पहिलो साता आयोजना हुने ढाका वस्तु प्रदर्शनीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले यस्तो बताएका हुन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ह्याण्डुलम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रर्दशनी र सम्मेलन आयोजना लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था उच्च रहेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले विभिन्न शिर्षक हस्तकलाका वस्तु वा सुती कपडा अन्तर्गत ढाकाका बस्तुहरु निर्यात भईरहेको जानकारी दिए ।

अहिले ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहे पनि निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्याङ्क राख्ने कार्य भने हुन नसकेको उनको भनाइ छ । देशभर झण्डै ५० हजार भन्दा बढी रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवद्र्धन र गुणस्तर अभिबृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी भएको अध्यक्ष गिरीले बताए ।

हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा बजारको माग तथा बदलिँदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको छ । त्यसैले ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यावसायमा देखा परेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भैरहेको प्रयास लगायत ढाका उद्योग व्यवसायसंग सम्बन्धित यावत विषय बारे गहन छलफल गर्ने उद्देश्यले ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला तथा ढाका कपडाबाट उत्पादित विविध वस्तुहरु समावेश गरेर प्रदर्शनी समेत आयोजना गरिन लागेको संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङकेटमा आयोजना गर्न तय गरिएको भेला तथा प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने आयोजक पक्षले जानकारी दिएको छ ।

महासंघले २०५८ सालमा ढाका तथा पश्मिनाजन्य बस्तुहरुको बृहत प्रदर्शनी आयोजना गरेको पृष्ठभूमिमा यो दोस्रो ढाका कपडा प्रदर्शनी हुने बताइएको छ ।

विगतमा नेपाल घरेलु तथा साना उद्योग महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समिति गठन गरिएकोमा विविध कारणले गर्दा यसलाई व्यवस्थित ढंगले अगाडी बढाउन नसकिएकोमा पुस २ गते आयोजना गरिने भेलाद्वारा सो संघलाई पुनर्गठन समेत गरिने भएको छ ।

कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त पहलमा आयोजना गरिनेछ भने राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको सहयोग रहनेछ ।

ढाका कपडा परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन हो । थोरै पूँजी, परम्परागत प्रविधि र स्थानिय जनशक्तिमा आधारित ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसंग संचालन गर्न सकिन्छ । देशको सुदूर पूर्वदेखि सुदूर पश्चिम सम्म सबै ग्रामिण, अर्धशहरी तथा शहरी क्षेत्रहरुमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन गर्ने कार्य हुदै आएको छ ।

यसबाट एकातिर ग्रामिण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुकहरु खासगरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनिकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु¥याउदै आउनुका साथै आयातित कपडाहरुलाई प्रतिस्थापन गर्न सहयोग पु¥याउँदै आएको छ ।

देशको यस्तो महत्वपूर्ण मौलिक उत्पादनका खास गरेर ३ वटा महत्वपूर्ण पाटाहरु छन । पहिलो स्वदेशी वजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनिकरणमा सहयोग पु¥याउनु, दोस्रो स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु, ढाका वस्तु उत्पादन गरी त्यस्को निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र तेस्रो नेपाली मौलिक उत्पादनको विश्व वजारमा प्रचार, प्रसार र पहिचान एवं प्रवद्र्धन हुन गई फेशन इण्डष्ट्रिमा नविन वस्तुको रुपमा स्थापित हुनु ।

पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह