Logo

बिजनेस होम

एमालेमा युवराज खतिवडालाई विस्थापित गरे व्यापारी मोती दुगडले


GDP Nepal
   १३ मंसिर २०७८, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं महाधिवेशन चितवनको सौराहामा चलिरहेको छ ।

एमाले महाधिवेशनको बन्दशत्रमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय समिति सदस्यको नामावली पेश गरे र सो नामावलीअनुसार मनोनयन दर्ता गर्न पार्टीका प्रतिनिधिलाई निर्देशन पनि दिए ।

एमाले अध्यक्ष ओलीले केन्द्रीय समिति तथा १४ पदाधिकारीका लागि गरेको प्रस्तावमाथि केहीले असहमति जनाउँदै उम्मेदवारी दिए पनि महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा ओलीले प्रस्ताव गरेकै नामावली अनुसार परिणाम आउने देखिएको छ ।

एमाले अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा त्यसमा अटाउन सकेनन्, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा ।

खतिवडालाई अनावश्यक रुपमा च्यापेकै कारण तत्कालीन नेकपा सचिवालयदेखि स्थायी कमिटिसम्म निकै आलोचना बेहोरेका ओलीले यसपटक केन्द्रीय समितिमा भने उनलाई समावेश गरेनन् ।

खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि पनि गैरसांसदका रुपमा अर्थमन्त्रीमै नियुक्ति दिएका ओलीले अर्कोपटक सांसद बनाउन असफल भएपछि आफ्नो मुख्य आर्थिक सल्लाहकार बनाएका थिए । यत्तिले मात्र नपुगेर उनलाई अमेरिकाका लागि राजदूत बनाइएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक पृष्ठभूमिका राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै खतिवडा स्वदेश फर्किसकेका छन् र उनी चितवनस्थित एमाले महाधिवेशनमा पनि सक्रिय सहभागी भए । तर, ओलीको नजरमा भने पर्न सकेनन् ।

खतिवडालाई केन्द्रीय सदस्यमा स्थान नदिए पनि ओलीले व्यापारी मोतिलाल दुगडलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन् । मधेशी खुला क्लष्टरबाट केन्द्रीय सदस्यका लागि दुगडको नाम ओलीले प्रस्ताव गरेका हुन् ।

जबकि खतिवडालाई अर्थमन्त्री बनाएलगत्तै ओलीले २०७५ जेठमा तत्कालीन नेकपा केन्द्रीय सदस्यमा समेत मनोनित गरेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएका दुगडलाई ओलीले मन्त्रिमण्डल पुनर्गठनका बेला हटाएर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनाएका थिए । दुगडले एमालेको थापाथलीस्थित नयाँ कार्यालय खोज्ने कामदेखि विभिन्न व्यापारीलाई पार्टी प्रवेशका लागि सहजीकरण गरेका थिए ।

खतिवडालाई रोकेर दुगडलाई अघि बढाउने ओलीको निर्णयप्रति कतिपयले आश्चर्य व्यक्त गरे पनि धेरैले स्वाभाविक भनेका छन् । ओलीका लागि व्यापारीबाट खर्च जुटाउने काम खतिवडाबाट सम्भव नभएको र दुगडबाटै सहज देखेकै कारण उनलाई च्यापेको उनीहरुको भनाइ छ ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह