Logo

कर्पोरेट-बजार

नाडा निर्वाचनः कर्पोरेट हाउसबीच प्रतिष्ठाको लडाइँ बन्दै !


GDP Nepal
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौं । देशका राजनीतिक पार्टीहरु मात्र नभइ निजी क्षेत्र पनि यतिबेला निर्वाचनमा छ । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आसन्न निर्वाचनले काठमाडौंको चिसोलाई बिर्साउने गरी व्यावसायिक क्षेत्र गर्माएको छ ।

हुन त नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल भनेको नेपाल उद्योग वाणिज्य महासंघको एक वस्तुगत सदस्यमात्र हो । तर, यसको निर्वाचनले व्यावसायिक वृत्तमा ठूलो अर्थ राख्ने भएकाले सम्पूर्ण निजी क्षेत्रको ध्यान मंसिर २३ गते हुने नाडा निर्वाचनमा तानिएको छ ।

नाडा निर्वाचनको बढी चर्चा हुनुका केही कारण छन् । पहिलो कारण अटोमोबाइल क्षेत्र आफैंमा विश्वभर आकर्षणको क्षेत्र हो भने नेपालजस्तो मध्यमवर्ग बढी भएको मुलुकमा गाडी र मोटरसाइकल तथा यससँग सम्बन्धित अन्य व्यवसायप्रति उच्च आकर्षण पनि छ । यसैले पनि व्यावसायिक र उपभोक्ता दुवैका लागि यो क्षेत्रमा हुने निर्वाचनको चासो बढी छ । अर्कोतर्फ राज्यको राजस्वको मुख्य स्रोत पनि अटोमोबाइल भएको र यस क्षेत्रमा राज्यले बेलाबखत नियन्त्रणकारी नीति ल्याउने भएकाले पनि नयाँ नेतृत्वको विषयमा राज्यका निकायलाई समेत स्वाभाविक चासो हुने गर्दछ ।

दोस्रो कारण हो, यस क्षेत्रसँग आवद्ध मुलुकका ठूला कर्पोरेट हाउसहरु । अटोमोबाइल व्यवसाय नेपालमा प्रायः सबै व्यावसायिक घरानाहरुको महत्वपूर्ण ‘विङ’ भएको छ । खेतान समूहले यो व्यवसाय छाडे पनि चौधरी, गोल्छा, वैद्य, ज्योति, लक्ष्मी, सिप्रदी, विशाल, शंकर, शारदा, दुगड, आईएमई, आईएमएस लगायतका ठूला घरानाको व्यवसायको महत्वपूर्ण आधार अटोमोबाइल बन्दै गएको छ । जसका कारण यी हाउसहरु नै निर्वाचनमा प्रत्यक्ष सहभागी भएकाले पनि नाडा निर्वाचन रोचक बन्दै गएको हो ।

नाडा निर्वाचनको चर्चा बढी हुनुको तेस्रो कारण भने यसको ऐतिहासिक विरासत पनि हो । नाडाका पूर्वअध्यक्षहरु व्यावसायिक जगतका हेभिवेट व्यक्तित्व नै हुन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बरमा भन्दा नाडामा हेभिवेट व्यवसायीहरु नेतृत्वमा पुगेका छन् । मोहनगोपाल खेतान, पद्मज्योति, रोहिणी थपलिया, डा. रुप ज्योति, लोकमान्य गोल्छा, सौर्य राणा, हिक्मत बहादुर माली, सौरभ ज्योति, शेखर गोल्छा, अञ्जन श्रेष्ठ, शम्भु दाहालजस्ता विशिष्ट उद्यमीले नेतृत्व लिइसकेको संस्थामा नयाँ नेतृत्व कस्तो आउँछ भनेर उत्सुकतापूर्वक हेरिएको छ ।

जानकारहरुका अनुसार यसपटक पनि नाडा निर्वाचन कर्पोरेट हाउसबीचको जुँगाको लडाइँ बन्ने संकेत देखिएको छ । परम्परागत अटो व्यवसायीलाई व्यवसायमा नयाँ व्यवसायीले चुनौती दिइरहेका बेला नाडा निर्वाचनमा पनि यसको छायाँ देखिएको उनीहरुको भनाइ छ ।

यसपटक के होला ?
आसन्न नाडा निर्वाचनमा मुलुकका शक्तिशाली व्यावसायिक घरानाहरु स्पष्ट रुपमा विभाजित भएका छन् । एउटा समूहको नेतृत्व गरेर चौधरी समूहका तेस्रो पुस्ताका युवा करण चौधरी मैदानमा अघि सरेका छन् भने अर्को समूहमा अटोमोबाइल क्षेत्रमा अनुभवी मानिएका उदीयमान उद्यमी ध्रुव थापा रहेका छन् ।

नाडा निर्वाचनमा कर्पोरेट हाउसहरुको भोट निर्णायक मानिए पनि ठूला र बढी भोट भएका हाउस नै स्पष्ट विभाजित भएकाले कसले बाजी मार्छ भन्न नसकिने जानकारहरु बताउँछन् ।

करण चौधरीको प्यानलबाट सिप्रदी, हिरोलगायतका ब्रान्ड समेटिएका छन् । हिरोका अभिक ज्योति, सिप्रदीका राजनबाबु श्रेष्ठ तथा होन्डालाई प्रतिनिधित्व गर्ने प्रकाश कपुरी यस प्यानलका आकर्षण हुन् । यसबाहेक उनको प्यानलमा रहेका अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, पंकज अग्रवाल, बिक्रम सिघानिया परिचित अनुहार हुन् । यो प्यानलमा मिलनबाबु मल्ल, नीलमणी पाठक, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, वरदान बस्नेत, निशान ढकाल, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई उम्मेदवार रहेका छन् ।

थापाको टिममा हुन्डाईका निराकर श्रेष्ठ, टीभीएसका दीपक कुमार अग्रवाल, फोर्डका आकाश गोल्छा, बीवाईडीकी यमुना श्रेष्ठ, एसएमएल इसुजुका कपिल सिवाकोटी, हिट्कोका प्रदीपमान प्रधान, पद्मश्री ग्रुपका सुवासिस थपलिया लगायतका परिचित अनुहार रहेका छन् । यस्तै, यो प्यानलमा अमर ज्योति रञ्जित, बीएन पाठक, दिपक कुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन कन्साकर, सञ्जय कुमार खेतान रहेका छन् ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह