Logo

बिजनेस होम

एनआरएनए मध्यपूर्व सम्मेलनमा ६० प्रतिशत रेमिट्यान्सको हिसाब मागिने


appharu
   ५ भाद्र २०७५, मंगलबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बिहीबारदेखि सुरु हुने मध्यपूर्व क्षेत्रीय सम्मेलनमा त्यस क्षेत्रमा कार्यरत गैरआवासीय नेपाली कामदारप्रति सरकारी उपेक्षाका विषयमा गम्भीर समीक्षा हुने भएको छ ।

भदौ ७ देखि ९ गतेसम्म हुने यस भेलाबाट मर्यादित र सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीहरुले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराइने एनआरएनएले जनाएको छ ।
‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकारः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ नाराका साथ सुरु हुने सम्मेलनमा २० लाखभन्दा बढी नेपाली श्रमिकका रुपमा कार्यरत रहेको र नेपाल पठाउने रेमिट्यान्सको ६० प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई सरकारी उपेक्षाका विषयमा गम्भीर छलफल हुने जनाइएको छ ।
संघका प्रवक्ता भुषण घिमिरेका अनुसार संख्यात्मक रुपमा सबै भन्दा धेरै नेपाली कार्यरत रहेका यस क्षेत्रका नेपालीहरुको समस्याहरु सम्बोधन गर्नु यस सम्मेलनको प्रमुख उदेश्य हो ।

सम्मेलनको पूर्वाद्र्धमा प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ– नेपालमा भित्रने कुल रेमिट्यान्सको करीब ६० प्रतिशत मध्यपूर्वबाट नै आउँछ । तर त्यो क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरु विभिन्न अप्ठ्यारोमा पर्दा सहज सहयोग पाउने वातावरण बन्न सकेको छैन । मध्यपूर्वमा कार्यरत नेपालीहरु माझ स्थानिय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभाव लगायत विविध कारणले जेलजीवन बिताइरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको पीडा एकातिर छ भने अर्कोतर्फ काम गर्ने क्रममा गम्भिर दुर्घटनामा परी अंगभंग भएकाहरुको समस्या उस्तै छ । स्वास्थ्य तथा सुरक्षाका बारेमा चेतना नहुनाले कतिपयले अकालमा ज्यान गुमाउनु परेका यथार्थता सर्व्विदितै छ । तसर्थ यी सबै पक्षमा बैठकले गम्भीरतापूर्वक छलफल गर्नेछ र त्यस्ता समस्या निराकरणका लागि सुझाव प्रस्ताव गर्नेछ ।

सम्मेलनमा नेपाल सरकारका खानेपानीमन्त्री बिना मगर, पूर्व श्रममन्त्री रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विपिन आचार्य, अन्य सरोकारवाला निकायका पदाधिकारीहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षकहरु, पदाधिकारीहरु, सदस्यहरु, विभन्न मुलुकका एनसिसिका प्रतिनिधिहरु र एनआरएनएका अभियन्ताहरु लगायत संचारकर्मीहरु सम्मिलित हुने जनाइएको छ ।

गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक आर. के शर्माको संयोजकत्वमा हुन गइरहेको यस बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

प्रकाशित : ५ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह