Logo

विकास / पूर्वाधार

कामदारको अवरोधपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द


GDP नेपाल
   ११ पुस २०७८, आइतबार


मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो ।

भर्खरै निर्माणको काम सुरु भएको आयोजनामा काम गर्ने मजदुरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ । आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग आयोजना पक्षले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदुर पूर्णबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनकोसी–मरिण डाइभर्सनमा आफूले दैनिक आठ घण्टा काम गरेवापत आयोजनाले सुक्खा रु ५८० का दरले पारिश्रमिक दिने गरेको छ ।” आयोजनको पारिश्रमिकले जीवन धान्न नै मुस्किल हुने उहाँको गुनासो छ ।

आयोजनासँग जिल्लाको दर कायम हुनुपर्ने, ओभरटाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दशैँ बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग राखेकाले आफूहरुको माग सम्बोधन हुनुपर्ने तिलकप्रसाद चौलागाईँले बताउनुभयो । आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उहाँको भनाइ छ ।

आयोजनामा मजदुर ११०, मिस्त्री ५०, मेकानिक आठ, अपरेटर २०, वेल्डर सात, दोभासे चार, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० मजदुर कार्यरत रहेका चाइना ओभरसिज इञ्जीनियरिङ गु्रप कम्पनीका प्रसाशन प्रमुख मिस्टर लूले जानकारी दिनुभयो ।

सुनकोसी–मरिण डाइभर्सन राष्ट्रियस्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदुरलाई तलब दिँदै आएको लूले बताउनुभयो । आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इञ्जीनियरिङ गु्रप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदुरले शुक्रबारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन् । मजदुर आन्दोलित भए पनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह