Logo

अर्थनीति

हाइप्रोफाइल उद्योगीविरुद्ध भ्रष्टाचार मुद्दा, खानीसँग मिलेमतोमा सवा अर्ब हानी नोक्सानी


GDP Nepal
   १२ माघ २०७८, बुधबार


काठमाडौं । खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित नौ उद्योगीविरुद्ध सवा अर्ब राज्यलाई हानी नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

९ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको अख्तियारको ठहर छ ।

यी उद्योगले वार्षिक स्वीकृत क्षमताभन्दा बढी चुनढुङ्गा उत्खनन तथा उत्पादन गरेका हुन् ।

यसरी मुद्दा दायर भएका उद्योगमा सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि. र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि. रहेका छन् ।

अख्तियारका अनुसार यी ९ वटा कम्पनीबाट वार्षिक प्रति आर्थिक वर्ष एक लाख रूपैंयाका दरले जरिबाना लिने गरी विभागीय निर्णय गरी क्षतिपूर्ति (राजस्व) उठाउने कानूनी कर्तव्यबाट विमुख भई सामान्य जरिवाना मात्र लिई नेपाल सरकारलाई बिगो एक अर्ब चौबिस करोड पैंतालीस लाख छब्बिस हजार छ सय त्रिचालीस रुपैयाँ हानि नोक्सानी पुर्याएको जनाइएको छ ।

मुद्दा दायर भएका उद्योगहरुमा सबैभन्दा बढी बिगो माग दावी गरिएका उद्योगी सिद्धार्थ मिनरल्स उद्योगका पशुपति मुरारका रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ठ सदस्य रहेका मुरारकासँग ४९ करोढ ४५ लाख माग दावी गरिएको छ ।

यस्तै, विष्णु न्यौपानेसँग १६ करोड ३१ लाख, शरद गोगलसँग २० करोड ५० लाख, ऋषि अग्रवालसँग ११ करोड १७ लाख, प्रवलजंग पाण्डेसँग १ करोड ७९ लाख, नरेश दुगडसँग ९ करोड ६९ लाख, निपेश तायलसँग ६ करोड ९८ लाख, भीमबहादुर थापासँग ३ करोड ८ लाख र मान बहादुर श्रेष्ठसँग ५ करोड ४३ लाख रुपैयाँ बिगो दावी गरिएको छ ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह