Logo

बिजनेस होम

नेपालमा हस्तकला सिसा उद्योगको दुई दशक:भारत र चीनका बजारसँग प्रतिस्पर्धा



उच्चशिक्षा र रोजगारीका लागि नुवाकोटबाट २०५१ सालमा काठमाडौँ छिरेर ठमेलका गल्लीतिर भौँतारिँदै गर्दा श्यामप्रसाद तिमिल्सिनालाई एक होटलमा काम गर्ने अवसर मिल्यो । अरुको काम गरेर मात्रै जीवन चल्दैन, आफैले केही गर्नुपर्छ भन्ने भावनालाई साकार पार्ने अठोट लिएका तिमिल्सिना होटेलमा भेटिएका एक विदेशीको प्रोत्साहनमा हस्तकलाको काम सिक्न भारतको नयाँ दिल्ली जान तयार हुनुभयो ।

अरुले कागजमा लेखिदिएको बाटोको ठेगानाका भरमा उहाँ आफ्ना साथीहरू मुकुन्द ढकाल र अच्युत सिग्देलसँगै महेन्द्रनगर पुगेर टाँगा चढेर त्यसपछि रात्रि बस हुँदै दिल्ली पुग्नुभयो ।

दिल्लीमा सिसाको हस्तकलासम्बन्धी काम सिकेर तिमिल्सिना त्यहाँको कम्पनीको व्यवस्थापकसम्म हुन पुग्नुभयो । त्यही बीचमा तिमिल्सिनाले भाइ राजेश तिमिल्सिना, आफन्त र अन्य नेपाली युवालाई भारतमा लगेर सीप सिकाएर काम लगाइसक्नुभएको थियो । सोही क्रममा नेपालमा तिमिल्सिनाका सहपाठी नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का व्यवसायी गोपीप्रसाद कँडेलले आफ्नै मुलुकमा हस्तकला सिसा उद्योगको उत्पादन र व्यवसाय गर्न प्रोत्साहन गरेपछि श्यामका दाजुभाइ भारतको काम छाडेर पाँच वर्षपछि जन्मभूमि नेपाल फर्कनुभयो । उहाँहरू सबै मिलेर पुतलीसडकस्थित कँडेलको कागज उद्योगबाट २०५५ साल माघ २२ गते नेपालमै पहिलो पटक सिसाको हस्तकलाको सामान उत्पादनकर्ता बन्नुभयो ।

त्यसरी शुरु भएको नेपालको हस्तकला शिक्षा उद्योग थालनीले दुई दशकमा पाइला टेक्दा यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्षरुपमा करिब १५ हजारको राजगारी र सयभन्दा बढी उद्योगको सञ्जाल विस्तार गर्न सफल भइसकेको छ । यतिमात्र होइन यही कलाको उत्पादन र निर्यात गर्ने काठमाडौँ टोखा नगरपालिका–५ स्थित पिपुल्स क्राफ्ट एक्सपोर्टका संस्थापक कँडेलले २०७६ मा नेपाल सरकारबाट दिइने ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ ९सिआइपी० सम्मान प्राप्त गर्न सफल हुनुभयो । केही वर्ष अमेरिकामा पुगेर व्यवसाय गरेका कँडेल स्वदेशमै समृद्धिका लागि केही गर्नुपर्छ र अरु युवालाई पनि प्रोत्साहित गर्नुपर्छ भनेर स्वदेश फर्केर कृषि फार्म, ग्यास तथा सौर्य उत्पादनका अन्य क्षेत्रमा पनि लगानीकर्ता बन्नुभएको छ ।

व्यवसायी कँडेलका अनुसार युरोपका मुलुक, क्यानाडा, अमेरिकालगायत मुलुकका नेपाली हस्तकलाको सिसाका उत्पादन पुग्ने गर्छन् । सिसाका विभिन्न आकारका गिलास, सजाउने माछा, भ्यागुतो, डेकोरेशनका सामाना, तमाखु खाने पाइप (पिनेट पाइप), च्याम्बर, बबलरजस्ता उत्पादन विदेशिने गरेका छन् । कँडेलले आफूहरु यस क्षेत्रमा भारत र चीनजस्ता मुलुकको बजारसँग प्रतिस्पर्धा गरेर टिकिरहेको बताउँदै यस प्रकारको उद्योगका लागि राज्यका तर्फबाट थप प्रोत्साहन गरिनुपर्ने बताउनुहुन्छ ।

हस्तकला एक प्रकारको घरेलु उद्योग पनि भएकाले लगानशीलता, उपभोगको ज्ञान, बजारको माग अनुसारको उत्पादन, राज्यका नियम कानुनको ज्ञान, गुणस्तरीय उत्पादन र उचित मूल्य निर्धारण गर्न सके व्यावसाय धान्न सकिने उहाँको अनुभव छ ।

भारतबाट फर्किएर ‘एसजी इन्टरनेशनल’ र भोले बाबा हस्तकला उद्योग सञ्चालन गरिरहेका श्याम तिमिल्सिनाले आफूहरुले अरुले गरेकैभरमा काम सिकेको र त्यहाँ सिकेको ज्ञान नेपालमा अरुलाई बाँडेको र यस व्यवसयाबाट आफूहरु सन्तोषजनक स्थितिमा रहेको बताउनुहुन्छ । हाल कल्याणी एक्सर्पो र इम्पोर्ट तथा नीरञ्जना हस्तकला सञ्चालन गरिरहेका सिसाको हस्तकलाका पहिलो कालीगढ राजेश तिमिल्सिनाले स्वरोजगारमूलक पेशाका रुपमा यसलाई अपनाइरहेको बताउनुभयो ।

सिसाको हस्तकला सिकेर अन्य व्यवसायीकमा पहिलो रोजगारकर्ता दिनेश ढकाल पनि अहिले आफै व्यवसायी बनिसक्नुभएको छ । उहाँले ‘लस भेगास एक्सपर्ट एण्ड इम्पोर्ट’ सञ्चालन गर्दै आउनुभएको छ । उहाँका अनुसार अङ्ग्रेजी महिनाको फेब्रुअरी, मार्च, अप्रिल र मे महिनामा विदेशबाट यस कलाका उत्पादनको बढी माग हुने गरेको छ । उहाँले यस पेशामा अन्य पेशा जस्तो अवस्थ्य प्रतिस्पर्धा नभएको पनि जनाउनुभयो । नेपाल सरकारको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षका प्रथम छ महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.९ प्रतिशतले वृद्धि भई रु ११ खर्ब १८ अर्ब १९ करोड पुगेको छ ।

कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.६ प्रतिशत र ८९.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ९५.५ प्रतिशतले वृद्धि भई रु ११८.८५ अर्ब तथा कूल पैठारी ५१.१ प्रतिशतले वृद्धि भई रु ९९९.३४ अर्ब पुगेको छ । आव २०७७/७८ को प्रथम छ महिनाकोअवधिमा निकासी पैठारी व्यापारको अनुपात १ः१०.९ रहेकोमा आव २०७८/७९ को सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः८.४ रहन आएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा,जुट तथा जुटका सामान, तयारी पोशाक, सूर्यमुखी तेल, ऊनी फेल्टका उत्पादन, जुस, अलैँची, चिया, कपडा, पश्मिना सल, कुकर र बिरालोको आहार (डग च्यू) चाऊचाऊ, फलाम तथा फलामका उत्पादन, जडीबुटी,९७ नेपाली हातेकागज, जुत्ता तथा रोजिन र रेजिन एसिडप्रमुख रूपमा रहेका छन् ।

सो केन्द्रले सिसाको हस्तकलाको व्यापारलाई फलाम र ढुङ्गाका मूर्तिअन्तर्गतको सूचीमा राख्ने गरेकाले सिसाको अलग्गै व्यापारिक सूची उपलब्ध हुनसकेको छैन ।नेपाल हस्तकला महासङ्घले राखेको सूचीमा भने सिसाको हस्तकलालाई उच्चस्थानमै समावेश गर्ने गरेको छ । महासङ्घका अनुसार नेपालमा ४२ समूहका हस्तकलाको उत्पादन हुने गरेको छ, भने सिसासम्बन्धी हस्तकलाका सामानको वार्षिक रु ३० करोड बराबरको निर्यात हुने गरेको छ ।

निर्यात हुने अन्य सामानमा पश्मिना, पौभा ९थान्का०, सिल्भर र गहनाजन्य सामान, मूर्तिकला, काष्ठकला, झोला, कागज, सेरामिक्स, छालाका उत्पादान, धार्मिक सामान, जातजातिगत उत्पादन छन् । ती सामान संयुक्त अधिराज्य बेलायत, भारत, चीन, क्यानाडा, जर्मनी, जापान, इटली, फ्रान्स, अष्ट्रेलिया, नेदरल्याण्डलगायत मुलुकमा निर्यात हुने गरेका छन् ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह