बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्णयप्रति नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।
परिसंघले अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको निर्णय गर्नु अनपेक्षित र अर्थतन्त्र थप जोखिममा पर्ने संकेत रहेको बताएको छ। विज्ञप्ति जारी गर्दै संघले ब्याजदर वृद्धिबाट बजारमा तरलता थप भइ हालको समस्या समाधान नहुने र वित्तीय स्थायीत्वमा समेत जोखिम बढ्ने जनाएको छ ।
“ब्याजदर वृद्धिबाट बजारमा तरलता थप भइ हालको समस्या समाधान हुने अवस्था देखिँदैन। यसले निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायीत्वमा जोखिम बढ्ने परिसंघको बुझाई रहेको छ। यसको प्रत्यक्ष प्रतिकूल असर कोभिड लगायत विविध कारणले समस्यामा परेका उद्योग, कृषि, पर्यटन व्यवसायमा पर्ने निश्चित छ। ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्दा उपभोक्ताहरूलाई समेत नकारात्मक असर पर्ने देखिएको छ। वर्तमान अवस्थामा शिथिल प्राय भएका उद्योग व्यवसाय थप कमजोर बन्ने देखिन्छ “, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया