Logo

घुमफिर

फागुनमै फूल्यो लालीगुराँस, रमाए पर्यटक


GDP नेपाल
   २३ फाल्गुन २०७८, सोमबार


सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् ।यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर बन पाखा नै राताम्यै देखिन थालेका छन् ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरणविद्ले बताएका छन् ।

लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका बृद्ध वेदप्रसाद उपाध्यायले बताउनुभयो ।

लागीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विकले उल्लेख गर्नुभयो, “अहिले बेमौसममा नै काफल, तिजुलगायत जङ्गली फल पाकेको र गुराँस फुलेको देख्नपाइएको छ । वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।
उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह