काठमाडौं । स्वास्थ्यसम्बन्धी पूर्वाधार अभावले कोभिड महामारीका बेला मानवीय क्षति बढेसँगै पूर्वाधार विकासमा निजी क्षेत्रले पनि जोड दिन थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समिति यसमा सक्रिय रुपमा अघि बढेको हो ।
स्वास्थ्य पूर्वाधार विकासमा सहयोग जुटाउने र जस्तोसुकै अवस्थाको सामनाका लागि तयारी अवस्थामा रहने महासंघको नीतिअनुसार वीरगन्ज उद्योग वाणिज्य संघले पोखरिया अस्पतालको स्तरोन्नति सम्पन्न गरेको छ ।
पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन उपचार कक्ष निर्माण गरि हस्तान्तरण भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार सो कक्षको उदघाटन गरे ।
अस्पतालको स्तरोन्नतिमा वीरगन्ज उद्योग वाणिज्य संघ र संघको स्वास्थ्य समितिले लगानी गरेका छन् । महासंघले वीरगन्जबाट सुरु भएको स्वास्थ्य केन्द्रको स्तरोन्नतिसम्बन्धी अभियानलाई सबै प्रदेशमा विस्तार गर्ने योजना बनाएको समितिका सभापति हेमराज ढकाल बताउँछन् ।
“ससाना अस्पतालको स्तरोन्नति गर्दै भोलिको सम्भावित महामारीका लागि तयारी रहनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ,” सभापति ढकाल भन्छन्, “त्यसै अभियानस्वरुप वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा पोखरीया अस्पतालको स्तरोन्नति सम्पन्न भएको छ भने अन्य प्रदेशमा पनि यस्तै कार्यक्रम अघि बढाउन लागिरहेका छौं ।”
समितिले कोरोना महामारीको अनुभवबाट सिकेर पूर्वाधार विकासका लागि सहकार्य गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गरेको छ । सभापति ढकाल वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघ कार्यकारिणी समिति सदस्य सुवोध कुमार गुप्तालगायतको तत्परताका कारण यो सम्भव भएको र अन्य क्षेत्रमा पनि यस्ता सहयोगी हात जुट्ने क्रममा रहेको बताउँछन् ।
“यस्तो अभियानलाई सबै प्रदेशमा पुर्याउन पनि हाम्रो समितिको तर्फबाट सबैखाले सहयोग र पहल हुनेछ,” उनी भन्छन् ।
प्रतिक्रिया