काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश प्रसाद पाण्डेयले चिनियाँ वाणिज्य सहायकमन्त्री शेङ क्युपिङलाई रसुवागढी र तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने वातावरण बनाइदिनु आग्रह गरेका छन् ।
चीनका वाणिज्य सहायक मन्त्री (सचिवस्तर) शेङ क्युपिङसँगको औपचारिक भेटमा शनिबार सचिव पाण्डेयले हाल सञ्चालनमा रहेका व्यापारीक नाकाहरु रसुवा र तातोपानी लामो समयदेखि पूर्ण रुपमा सञ्चालन हुन नसकेको विषय ध्यानाकर्षण गराउँदै उक्त नाकाहरु नियमित र पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्थाका लागि पहल गर्न आग्रह गरेका थिए ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुई देश बीचको व्यापारलाई सहजीकरण गर्न व्यापारीक पूर्वाधारको विकास, बहुकार्यात्मक क्वारेन्टिन प्रयोगशालाको निर्माणका साथै व्यापारसँग सम्बन्धित अन्य गैर भन्सार अवरोधहरु न्यूनीकरणमा दुई देशबीच सहकार्य हुनुपर्ने विषयमा नेपालले जोड दिएको थियो ।
छलफलका क्रममा सचिव डा. पाण्डेयले चीन सरकारले नेपालको व्यापारीक पूर्वाधार विकासमा सहयोग गर्नुका साथै नेपाली वस्तुहरुलाई कोटा रहित भन्सार रहित सुविधा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै उक्त सुविधाको उपयोगका लागि नेपाल लक्षित विशेष हार्मोनाइज्ड कोडको व्यवस्था गर्न र पेस्ट रिक्स एसेसमेण्ट लगायत स्यानिटरी र फाइटोस्यानीटरी मापदण्ड पूरा गर्ने विषयमा नेपाल सरकारलाई सहयोग गर्न आग्रह गरे ।
सचिव डा. पाण्डेयले नेपालमा वैदेशिक लगानीको लागि उपयुक्त वातावरण र प्रचुर संभावना रहेको हुँदा चिनिया लगानीकर्तालाई नेपालमा लगानी बढाउन अझै उत्प्रेरित गराउन आग्रह गरे ।
छलफलमा चिनियाँ सहायक मन्त्री क्युपिङ्गले चीन सरकार नेपालको व्यापार प्रवर्द्धन, व्यापारीक पूर्वाधारको विकास र विस्तारमा सकारात्मक रहेको कुरा बताए । उनले नेपाल चीनबीचको वैदेशिक व्यापारमा विद्यमान प्राविधिक विषयहरु संयुक्त कार्य सामातका बैठकमा विस्तृत रुपमा छलफल गर्न उपयुक्त हने बताउँदै सरल र सहज व्यापारका लागि विद्युतीय व्यापार र डिजिटल प्रविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
नेपाल र चीनवीच द्विपक्षीय व्यापारको उच्च संभावना रहेको उल्लेख गर्दै क्युपिङले दीगो व्यापारका लागि कृषि, वन, पर्यटन जस्ता क्षेत्रमा केन्द्रीत हुनुपर्ने विचार व्यक्त गरे ।
विश्वव्यापी महामारी कोभिड–१९ को प्रभावप्रति चीन सरकार अत्यन्त संवेदनशील भएको हँदा स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गरेका कारण रसुवा र तातोपानी नाका प्रभावित भएको तर हाल चीनमा समेत कोभिड १९ को प्रभाव न्यून हुँदै गएको परिप्रक्ष्यमा छिट्टै नै उक्त रसुवा र तातोपानीको सीमानाकामा सहज आयात निर्यातको लागि आवश्यक प्रवन्ध मिलाउने बताएका थिए ।
नेपाल चीन अन्तरदेशीय विशेष आर्थिक क्षेत्र मार्फत द्विपक्षीय व्यपारको प्रवर्द्धन गर्न सकिने हुँदा सोको लागि आवश्यक पहल गर्न डा. पाण्डेयले गरेको अनुरोधमा महामहिम सहायक मन्त्री क्युपिङले सो अवधारणाको प्रशसा गर्दै आफू चीन फर्केपछि तीब्बत स्वायत्त प्रदेशलाई उक्त कार्यमा शीघ्रता दिन निर्देशन दिने विश्वास दिलाए ।
उक्त कार्यक्रममा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिव लगायतका कर्मचारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।










प्रतिक्रिया