Logo

मुख्य समाचार

आठ महिनामा ८२.९ प्रतिशतले निर्यात बढेपनि ११ खर्ब ६० अर्ब ९९ करोडको व्यापारघाटा


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८ महिना १ खर्ब ४७ करोड वस्तु निर्यात भएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमश १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८र७९ को आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १३०८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु आयात २.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १४७ अर्ब ३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २१ अर्ब ३६ करोड बराबरको भएको थियो।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह