Logo

बिजनेस होम

विभूषण सच्चिएपछि चेम्बर अध्यक्ष मल्लले लिए ‘सुकीर्तिमय राष्ट्रदीप’


१ बैशाख २०७९, बिहिबार


काठमाडौं । संविधान दिवस २०७८ का अवसरमा सरकारले सार्वजनिक गरेको विभूषण सूचीमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नाउँ ‘जनसेवाश्री पदक’ प्राप्त गर्नेको सूचिमा थियो ।

तर, मल्लले यो पदक करिब एक दशकअघि नै प्राप्त गरिसकेका थिए । त्यसयता मल्लले पटकपटक गरी प्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री लगायतका पदक प्राप्त गरिसकेका छन् ।

विभूषण पाउनेहरुको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका अध्यक्षहरुको सूचीभन्दा निकै तल राखिएपछि चेम्बर अध्यक्ष मल्ल असन्तुष्ट थिए ।

नेपाल चेम्बर अफ कमर्सले पनि अध्यक्ष मल्लले पहिल्यै लिइसकेको जनसेवाश्री पदक नलिने सूचना गृह मन्त्रालयलाई दियो । जसका कारण मल्लको विभूषण सच्याउन सरकार बाध्य भयो ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा मल्ललाई सरकारले ‘सुकीर्तिमय राष्ट्रदीप’ पदकबाट विभूषित गरेको छ । यो पदक महासंघ अध्यक्ष शेखर गोल्छा र परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले पाएको पदकभन्दा माथिल्लो मानिन्छ । पदकको वर्गीकरणमा सुकीर्तिमय राष्ट्रदीप सातौं स्थानमा छ भने महासंघ र परिसंघ अध्यक्षले पाएको सुप्रवल जनसेवाश्री आठौं मानिएको छ ।

मल्लको नाउँ १९ औं नम्बरमा थप गरिएको छ ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदान गर्ने विभिन्न विभूषणहरुको सूचि संविधान दिवसका अवसर पारेर असोज ३ गते प्रकाशित गरिए पनि विभूषित व्यक्तित्वहरुलाई वैशाख १ गते मात्र प्रदान गर्ने गरिएको छ ।

व्यवसायीहरु कसले कुन पदक पाए ?

सुकीर्तिमय राष्ट्रदीप पाउने अन्य व्यवसायीमा एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, चेम्बरका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, मारबाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल रहेका छन् । गोयलले भने व्यवसायीका तर्फबाट नभइ समाजसेवीका हैसियतमा यो पदक पाएका हुन् ।

आठौं विशिष्ठ पदक मानिएको सुप्रवल जनसेवाश्री प्राप्त गर्ने व्यवसायीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका छन् । गोल्छा र अग्रवाल दुवैले महासंघ र परिसंघ अध्यक्षका रुपमा पदवी पाएका हुन् ।

सुप्रवल जनसेवाश्री व्यवसायीकै हैसियतमा पाउनेहरुमा उद्योगी राजेन्द्रकुमार खेतान, शिवरतन शारदा, ध्रुवकुमार श्रेष्ठ र साहिल अग्रवाल रहेका छन् ।

दशौं विशिष्ठ पदक मानिएको प्रवल जनसेवाश्री प्राप्त गर्ने व्यवसायीहरुमा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड, वीरगन्जका व्यवसायी सञ्जयकुमार खेतान, सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी तथा पर्यटन व्यवसायी राजु ढकाल लगायत रहेका छन् ।

यस्तै, व्यवसायीहरु अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल तथा बैंकरहरु उपेन्द्र पौड्याल र रविना देशराज श्रेष्ठ एवं बिमकहरु सुनिल बल्लभ पन्त र दीपप्रकाश पाण्डेले पनि सुप्रवल जनसेवाश्री पदक पाएका छन् ।

पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, युवा उद्यमी सौरभ दुगड, निर्माण व्यवसायी हुमनाथ कोइराला, व्यवसायीहरु देवकिसन मुन्दडा, एफएनसीसीआई लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

जनसेवाश्री पदक पाउने व्यवसायीको सूचिमा राधेश्याम हलुवाई, धुलिखेल लज एन्ड रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकाजु श्रेष्ठ, साना उद्योगी व्यवसायी सागर थापा, बैंकर दिलप्रकाश भट्ट, सहकारी अभियन्ता चन्द्र ढकाल, कृषि व्यवसायी अम्मर बहादुर बानियाँ, उद्योगी कमल किशोर मालपानी, यादवसिंह कार्की, चुन्नप्रसाद पौडेल र नरिश्वर शर्मा रहेका छन् ।

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह