Logo

बैंक / बिमा /शेयर

गभर्नर निलम्बन प्रकरणमा कालो ब्यानरसहित विरोधमा उत्रियो राष्ट्र बैंक कर्मचारी संघ


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको निलम्बनप्रति विरोध जनाएको छ ।

समितिले विरोधस्वरुप बैंकको केन्द्रिय कार्यालय बालुवाटरमा कालो ब्यानर झुण्ड्याउँदै कोणसभाको आयोजना गरेको हो ।

बैंक परिसरमा “केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर”, “निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर श्री महा प्रसाद अधिकारी माथि शुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर” र “संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर” भन्ने नारासहितको कालो ब्यानर झुण्ड्याइएको छ ।

कोणसभालाई सम्बोधन गर्दै बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब जब राज्य संचालकहरू वित्तीय प्रणालीको दुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगलमा फस्ने गर्छन् तव तव बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताउनुभयो । हालका गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताउनुभयो।

यस अघि पनि केन्द्रीय बैंकका गभर्नरहरु क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरु अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफुहरुसँग भएको बताउदै अध्यक्ष तिम्सिनाले गभर्नरमाथि गरिएको कारवाही फिर्ता लिन सरकारलाई अनुरोध गर्नुभयो ।

उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह