Logo

घुमफिर

नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा



नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल विविधतामा एकता भएको देश भएकाले पनि पर्यटनका क्षेत्रलाई सोहीअनुसार विकास र विस्तार गर्नुपर्ने तथा पश्चिम नेपालको रारा, खप्तड जस्ता कम प्रवद्र्धन भएका नयाँ गन्तव्यको विकास गरिए त्यसले सकारात्मक प्रभाव पर्नेछ ।

काठमाडौँ, पोखरा, चितवन, जनकपुर, अन्पूर्ण सर्किट, रसुवा र सोलुखुम्बुमा मात्रै केन्द्रित रहेको पर्यटन गतिविधिलाई देशभर नै विस्तार गर्न सकिएको खण्डमा त्यसले पार्ने दीर्घकालीन प्रभाव आफैँमा महत्वपूर्ण हुने सरकारले नै गठन गरेको एक समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । धनुषा जिल्लाको रामजानकी मन्दिरलाई युनेस्केको विश्वसम्पदा सूचीमा सूचीकृत गर्न यसअघि नै प्रस्ताव गरिएको छ । विश्वव्यापीरुपमा हिन्दूका लागि मुख्य आकर्षणको केन्द्र रहेको सो मन्दिर र आसपासको क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएपछि ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

हिमाली क्षेत्रमा बढीभन्दा बढी पर्यटक आकर्षित गर्न आदिवासी, जनजाति, पर्वतीय महोत्सव यात्राको योजना १२ महिनाअगावै क्यालेन्डरमा राखेर उपयुक्त बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । त्यसमा सोलुखुम्बुको मणि रिम्डु, मुस्ताङको तिजी, मनाङको यार्तुङ पर्व र ओलाङ्चोङ्गोलाको फुटुक महौत्व जस्ता हिमाली क्षेत्रका पर्व तथा चाडलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्नुपर्ने सुझाव सरकारलाई दिइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा गठन गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समिति मातहतको प्राविधिक समितिले सरोकार भएका सबै वर्ग तथा क्षेत्रसँग लामो अन्तक्र्रिया गरी नेपालको सामाजिक पर्व तथा संस्कृतिलाई पनि पर्यटन क्षेत्रसँग जोड्नुपर्ने सुझाव दिएको छ ।

समितिले प्रमुख धार्मिक तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, हलेसी, जनकपुर, पाथीभरा आदिलाई जोड्ने धार्मिक पर्यटन सर्किट, बौद्धनाथ, स्वयम्भुनाथ, नमोबुद्ध, मुक्तिनाथ र लुम्बिनी, हलेसी र बौद्ध जोड्ने सर्किटको पनि विकास गर्नु उपयुक्त हुने सुझाव दिइएको प्राविधिक समितिका संयोजक राजाराम गिरीको भनाइ छ । धार्मिक क्षेत्रलाई पर्यटनको विशेष सर्किट बनाउन सकिए त्यसले हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई पनि आकर्षित गर्न सकिन्छ भन्ने समितिको ठहर छ । अनुसन्धान र योजनामा आधारित आदिवासीको जातिय खाना, पाक संस्कृति र आतिथ्यता पनि पर्यटनको अर्को प्याकेज हुनसक्ने देखिन्छ ।

यस्तै, प्रदान गरिएका स्पष्ट सङ्केतसहित, बेलनेस, योगा, स्पा सुविधाका लागि केन्द्र स्थापना गरी स्वास्थ्य पर्यटनको विकास गर्ने, बौद्ध मठमा ध्यान, ध्वनि उपचार र बौद्ध आध्यात्मिक अनुभवको सिर्जना पनि नेपालको पर्यटन बजारका विस्तारको अर्को महत्वपूर्ण खोज हुनसक्छ । पर्यटकको बसाइँ लम्ब्याउन र गुणस्तरीय पर्यटक भित्र्याउनका लागि लामा प्याकेजको प्रवद्र्धन गर्न सबै क्षेत्रमा उच्चस्तरीय पर्यटनलाई सुधार र विकास गर्नुपर्नेमा जोड दिइएको संयोजक गिरीले जानकारी दिनुभयो ।

मुस्ताङमा सवारी साधनको सहज र सुगम उपस्थितिले नेपालको पदयात्रा पर्यटनमा समस्या देखिएको छ । अन्नपूर्ण सर्किटको यात्रा एकाध दिनमा छोटिएको छ । यो अवस्थालाई मध्यनजर गरेर नयाँ र विद्यमान पर्यटन सम्बन्धित गतिविधिले यातायातलाई बाधा नपर्नेगरी उपयुक्तरुपमा अफ रोड स्थानको सुनिश्चित गर्नुपर्ने समितिको ठहर छ । सडक सञ्जालको विकासले स्थानीयस्तरमा सहज भए पनि वैदेशिक मुद्रा कमाउने क्षेत्र समस्यामा परेकाले केही स्थानमा भने अफ रोड पदयात्रा तथा पर्यटन केन्द्रित गतिविधि गर्ने गरी सडक निर्माण गर्न नहुनेमा जोड दिइएको छ ।

राष्ट्रिय निकुञ्ज केन्द्रित पर्यटन

विश्वमै राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर अगाडि बढाइने पर्यटनको विशेष महत्व रहेको छ । बागलुङ ढोर पाटन क्षेत्र सिकार आरक्षका रुपमा संसारभर नै लोकप्रिय छ । साहसिक पदयात्रा र सिकार गर्न चाहने पर्यटकका लागि विशेष चासोका रुपमा रहेको ढोर पाटन जस्तै अन्य निकुञ्ज तथा संरक्षण क्षेत्रलाई पनि पर्यटनमा जोड्नु जरुरी छ ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, शुक्लाफाटा वन्यजन्तु आरक्ष र कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज जस्ता प्रमुख क्षेत्रमा पक्षी अवलोकनका विशेष प्याकेज तयार पार्न सकिन्छ । त्यस्ता प्याकेजका डिजाइन र प्रवद्र्धन गर्न सकिए त्यसले नेपालको पर्यटन उद्योगमा अर्को सकारात्मक प्रभाव पार्नेछ । त्यस्ता क्षेत्रमा फोटोग्राफी, चित्रकला, स्केचिङ, लेखन तथा अन्य सिर्जनात्मक गतिविधि गर्ने अवसर प्रदान गर्न सकिन्छ । नयाँ प्रडक्ट तयार पार्ने र त्यसमा पर्यटक आकर्षण गर्ने विषय नै धेरैभन्दा धेरै पर्यटक भित्र्याउने आधार बन्न सक्ने समितिले ठहर गरेको संयोजक गिरीले जानकारी दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जङ्गली हात्तीको बासस्थान र विभिन्न प्रकारका वनस्पति र जीवजन्तुको संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आगन्तुकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्नसक्ने देखिन्छ । त्यस्तै सचेतना जगाउन र लोपोन्मुख प्रजातिको बासस्थानको संरक्षण गर्न राष्ट्रिय निकुञ्ज र अन्य उपयुक्त स्थानमा वन्यजन्तु र जङ्गल अनुभवका आकर्षक प्याकेज विकास गर्नुपर्ने समितिले सुझाव दिएको छ ।

जलयात्रा मार्ग पनि अर्को महत्वपूर्ण गन्तव्यका रुपमा थप विस्तार हुन सक्छ । त्रिशूली, भोटेकोसी, माथिल्लो सुनकोसी, कालीगण्डकी, मस्र्याङ्दी, कर्णाली, सुनकोसी र तमोर त्यसका लागि खास गन्तव्य हुनसक्छ । ती नदीमा चलिरहेका जलयात्रामा थप विविधीकरण गर्न सकिन्छ । त्यहाँ रहेका सुविधाको स्तरोन्नति गर्दै नेपालका प्रमुख नदीमा नयाँ पर्यटकीय गतिविधिको विकास गर्न आवश्यक रहेको समितिको ठहर छ ।

इतिहासलाई पर्यटनसँग जोडाँै

नेपालका वीर पुर्खाले अङ्ग्रेज सेनालाई पराजित गरेका विभिन्न किल्ला पर्यटनको महत्वपूर्ण आधार बन्न सक्छ । सिन्धुलीको सिन्धुलीगढी नेपालको इतिहाससँग जोडिएको महत्वपूर्ण विरताको धरोहर हो । सरकारले सो गढीको संरक्षण गरेको छ । हरेक वर्ष सो गढीमा विजयोत्सवको कार्यक्रम आयोजना गरिन्छ । गोरखाको दरबार, मकवानपुरको मकावानपुर गढी, सिन्धुपाल्चोकको गढी तथा पाल्पाको रानीमहल पनि पर्यटनको खास क्षेत्र बन्नसक्ने समितिको सुझाव छ । नेपालमा यस्ता सयौँ गढी र किल्ला छन्, जसले विश्वका हजारौँ पर्यटकलाई आकर्षित गर्न सक्छ ।

नेपाल एकीकरण हुनुभन्दा अगाडिका विभिन्न राज्य र तिनका दरबार तथा अङ्ग्रेज सेनालाई हराएका विभिन्न किल्ला पनि नेपालको पर्यटनलाई विश्व बजारसँग जोड्ने महत्वपूर्ण आधारस्तम्भ बन्नसक्ने समितिले सरकारलाई सुझाव दिएको छ ।

एउटै टिकटमा सम्पदास्थल

काठमाडौँ उपत्यकाभित्रका सबै सम्पदास्थलको अवलोकन गर्न चाहने पर्यटकलाई एउटै टिकटमा प्रवेश गर्न पाउने व्यवस्था गर्नु आवश्यक छ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र पाटनको दरबार क्षेत्रमा प्रवेश गर्न चाहने पर्यटकलाई एउटै टिकटको सुविधा प्रदान गरिएको खण्डमा त्यसले धेरैभन्दा धेरै पर्यटक आकर्षित हुनसक्ने समितिले उल्लेख गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका ऐतिहासिक कला, संस्कृति तथा जात्रा पर्वलाई पनि त्यसमा जोड्न सकिन्छ । काठमाडौँ उपत्यकाका इन्द्रजात्रा, रातो र सेतो मछिन्द्रनाथको जात्रा पनि अर्को आकर्षणको गन्तव्य बन्न सक्छ । यस्तै, भक्तपुरको बिस्केट जात्रा, हाँडीगाउँको जात्राले पनि पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा सहयोग गर्न सक्छ । सम्भावित स्कीइङ गन्तव्य अनुसन्धान गर्ने जसले स्की भ्रमणसहित स्कीइङका सबै सुविधा प्रदान गर्नुपर्छ । आवास, रेष्टुरेन्ट र प्रशिक्षकसहित उपयुक्त सुविधा १२ महिना सुविधा सिर्जना गर्नुपर्छ । माउन्टेन बाइकिङ स्काइलाइन दौड र अनय सम्भावित नरम कौशल जोडिएका क्षेत्र र गतिविधि पनि पर्यटक आकर्षण गर्ने माध्यम बन्नसक्छ ।

समितिका संयोजक गिरीका अनुसार सबै क्षेत्रलाई पर्यटनसँग जोड्ने गरी विशेष प्याकेज बनाउन सकिएका खण्डमा कोरोना कहरबाट समस्यामा परेको यस उद्योगमा नयाँ बहार ल्याउन सकिन्छ । त्यसबाट सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह