Logo

बैंक / बिमा /शेयर

ज्योति विकास बैंक कर्मचारी दुर्व्यवहार प्रकरणः प्रहरीकै भूमिका शंकास्पद


gdpnepal
   १ पुस २०८२, मंगलबार


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ ।

सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरु प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा सो विषयको समुचित समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुगेका थिए ।

तर, स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले निज कर्मचारीहरुलाई नियोजितरुपमा घन्टौसम्म कब्जामा लिई गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमण भन्दै सिबिफिनले घोर भत्र्सना गरेको छ ।

यस्तो अपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीविना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पिडितको जाहेरीप्रति वेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाव दिएको भन्दै सिबिफिनले कडा आपत्ति प्रकट गरेको छ ।

निहित स्वार्थ पूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्तव्यनिष्ठ कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गरिएको छ ।

“जेनजी आन्दोलन र सो पश्चात सृजित असामान्य परिस्थितिलाई सहजीकरण गर्दै शान्ति सुरक्षा एवं सुशासनको प्रवद्र्धनसहित आर्थिक एवं बैंकिङ क्रियाकलापलाई तिव्रता दिँदै पुनर्निर्माण एवं नवनिर्माणमा नेपाल सरकार दत्तचित्त भएर लागिरहेकै बखत अर्थतन्त्रको आधारस्तम्भको रुपमा रही सोही बमोजिमका कर्तव्य र जिम्मेवारीहरुलाई गहनपूर्वक निर्वाह गरिरहेका बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत कर्मचारीहरुमाथि गरिएको यस्तो निकृष्ट आक्रमण कर्मचारी र बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं नेपाल सरकारमाथिकै आक्रमण भएको हामीले ठानेका छौं,” विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कामकारवाहीप्रति कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको माथिल्लो व्यवस्थापनसमक्ष वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाई समक्ष समेत उजुरी गर्न सकिने व्यवस्था छ ।

तर, कानून आफ्नै हातमा लिएर घटाइने यस प्रकारका निन्दनीय कार्यले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्ने तर्फ संवेदनशील भइदिन सरोकारवाला सम्पूर्ण पक्षहरुमा सिबिफिनले अनुरोध गरेको छ ।

सिबिपिफनले बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन र बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश, स्थानीय सरकार, र गृहमन्त्रालय सहित जिम्मेवार सम्पूर्ण निकायहरुसमक्ष अपिल पनि गरेको छ ।

 

प्रकाशित : १ पुस २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह