काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनंकर्मीविरुद्ध अढाई करोड भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनलाई सार्वजनिक पदमा रही अकुत सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरिएको हो ।
विशेष अदालतमा मंगलबार दायर मुद्दामा मुनंकर्मीकी पत्नी पूर्णकेशरी गोसाईंलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले मुनंकर्मी तथा उनको परिवारको ३ करोड ७३ लाख आय आर्जन गरेको देखिए पनि थप २ करोड ५० पचास लाखको भने स्रोत पुष्टि भएको नदेखिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुनंकर्मी नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख पदमा कार्यरत छन् ।
उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।
मुनंकर्मी २०५४ फागुनदेखि सार्वजनिक पदमा वहाल रही आयोगमा सम्पत्ति बिबरण भरी पेश गरेको मिति २०८० मंसिर १४ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज र निजको एकाघर परिवार तथा सगोलमा रहेको व्यक्तिहरूले उपरोक्त अवधिमा बिभिन्न आयका श्रोतहरूबाट कानूनीरुपमा आर्जन गरेका आयहरूलाई आयका रुपमा गणना गरिएको थियो ।
उनले प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको, मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको अख्तियारको आरोप छ ।










प्रतिक्रिया