Logo

अर्थनीति

एउटा सरकारी उद्योगः जोसँग प्रतिस्पर्धामै छैनन् स्वदेशी उद्योगदेखि एफडीआई पनि


appharu
   २० आश्विन २०७५, शनिबार


काठमाडौं । सरकारी उद्योग भन्नेवित्तिकै धेरैको मनमा लाग्छ कि जेनतेन घिटिघिटी चलिरहेका तथा राजनीतिक हस्तक्षेपले थिलथिलो भएका पुराना मेसिन घोटिरहने फ्याक्ट्री ।

तर, तपाइँको अनुमान सही नहुन सक्छ किनकी हेटौंडा सिमेन्ट उद्योगमा यो उदाहरण लागू हुँदैन ।

त्यसै पनि नेपालमा सिमेन्ट उत्पादनका क्षेत्रमा निकै चर्को प्रतिस्पर्धा छ । त्यसमाथि बर्सेनि स्वदेशी लगानीकर्ताले थप्ने अर्बौं लगानीदेखि एकैपटक भित्रिएको ३५ अर्बको वैदेशिक लगानीसम्म यसै क्षेत्रमा ओइरिएको छ ।

हेटौंडा सिमेन्ट उद्योग भने एफडीआई र निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धामा खरो उत्रिएको छ । प्रतिस्पर्धाकै लागि हेटौंडा सिमेन्ट उद्योगले आफ्ना पुराना मेसिनहरूको स्तरोन्नति गर्दै क्षमता विस्तार गर्न सुरु गरेको छ ।

यस्तै, मेसिनहरूको स्तरोन्नतिका लागि उद्योगले आव २०७४/७५ मा ४५ करोड रुपैयाँ रकम जुटाएको जनाएको छ । उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भन्छन्, “स्तरोन्नतिको लागि थप ५५ करोड रुपैयाँ चालू आर्थिक वर्षमै जोहो गर्ने योजनामा हामी छौं, आगामी आर्थिक वर्षमा झण्डै एक अर्ब खर्चिएर सिमेन्ट उद्योगको क्षमता विस्तार गरी उत्पादन पनि बढाउनेछौं ।”

देशभर खुलेका निजी सिमेन्ट उद्योगहरूले हेटौंडा सिमेन्टसँग मूल्यमा प्रतिस्पर्धा गर्न थालेपछि सिमेन्टको मूल्य घटाउन उत्पादन वृद्धि गर्ने योजनामा आफूहरू लागेको उनले बताए ।

सिमेन्ट उत्पादन गर्ने किल (भट्टी) का सामानहरू नयाँ प्रविधिसहित जडान गर्नको लागि रकम जोहो गहिरिएको उनको भनाइ छ । २०४२ सालमा जडान गरेको मेसिनहरूबाट अब उत्पादकत्व घट्दै गइरहेको र बेला बेलामा समस्यासमेत आइरहेको कारण नयाँ प्रविधियुक्त मेसिन ल्याउन लागिएको महाप्रबन्धक सिंहले बताए ।

“उद्योगको क्षमता बिस्तार गर्नसक्यौं भने हामीसँग सिमेन्टमा निजी उद्योगले प्रतिस्पर्धा गर्न सक्दैन,” उनले भने । हाल दैनिक ७ सय ५० टन सिमेन्ट दैनिक उत्पादन भइरहेकोमा क्षमता विस्तार गरी दैनिक २ हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको उद्योगले जनाएको छ ।

पछिल्ला वर्षहरूमा उद्योगले नाफामा वृद्धि गर्दै लैजानसमेत सफल भएको छ । निजीसँग प्रतिस्पर्धा बढेपनि केही वर्षयता उद्योग नाफमा रहेको देखिएको छ । गत आर्थिक वर्ष (२०७४/७५) मा उद्योगले करिब २४ करोड रुपैयाँ नाफा गरेको जनाएको छ । महाप्रबन्धक सिंहले भने, “हामी अन्तिम लेखापरीक्षणको काम गरिरहेका छौं, अन्तिम लेखापरीक्षण रिपोर्टबाट करिब २४ करोड नाफा हुने अनुमान गरेका छौं ।”

आर्थिक वर्ष २०७३/७४ मा २२ करोड ६० लाख रुपैयाँ उद्योगले नाफा गरेको थियो । त्यसअघि उद्योग ८० करोड रुपैयाँ घाटामा रहेको उद्योगले बर्सेनि नाफा वृद्धि गर्दै लगेको छ ।

चालू आर्थिक वर्षमा ३० करोड रुपैयाँभन्दा बढी नाफा कमाउने उद्देश्यले काम गरिरहेको सिंहको भनाइ छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा उद्योगले २ लाख ७३ हजार ९ सय १४ बोरा सिमेन्ट बिक्री गरेको छ । बिक्री महाशाखा प्रमुख भुपेन्द्रसिंह रावलका अनुसार ५० केजी प्रतिबोरा सिमेन्टको हाल ८ सय ९९ सय रुपैयाँ ४८ पैसामा बिक्री गर्दै आइएको छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा २१ लाख २० हजार ८ सय ८५ बोरा सिमेन्ट बिक्री गरेको उद्योगको तथ्यांकमा उल्लेख छ भने आर्थिक वर्ष २०७३÷७४ मा उद्योगले २७ लाख ६६ हजार ३ सय २८ बोरा सिमेन्ट बिक्री गरेको थियो ।

२०४२ सालमा स्थापना भएको उद्योगमा हाल ४ सय ५० स्थायी कर्मचारी र करिब २ सय अस्थायी कर्मचारी कार्यरत छन् । उद्योगले थप ९० जना नयाँ कर्मचारी नियुक्त गर्र्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । धादिङस्थित जोगिमारा, मकवानपुरको आमभञ्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुङ्गा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ ।

प्रकाशित : २० आश्विन २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह