Logo

अर्थनीति

प्लास्टिक उद्योगमा चुनौतीका चाङसँगै पर्याप्त अवसर


GDP Nepal
   १४ जेष्ठ २०७९, शनिबार


काठमाडौंको भृकुटीमण्डपमा प्लाष्ट नेपाल एक्स्पो सञ्चालन भइरहेको छ । बिहीबारदेखि सुरु भएको एक्स्पोमा स्वदेशी तथा विदेशी उद्यमी व्यवसायीको उल्लेख्य सहभागिता छ । कूल ८५ स्टल रहेको एक्स्पो शनिबार सम्पन्न हुँदैछ । यसै सन्दर्भमा केही उद्योगी व्यवसायीका बिचार प्रस्तुत छः

प्लास्टिकविहीन जीवन कल्पनाबाहिरको कुरा हो

राहुल अग्रवाल
अध्यक्ष, प्लाष्ट नेपाल फाउन्डेसन


नेपालमा सानाठूला गरी करिब ५ सय प्लास्टिक उद्योग सञ्चालनमा छन् र तिनमा ३० अर्बभन्दा बढी लगानी भइसकेको छ । यो क्षेत्रले एकातर्फ आयात प्रतिस्थापन गरिरहेको छ भने अर्कोतर्फ ठूलो संख्यामा रोजगारी सिर्जना पनि गरिसकेको छ । यद्यपि, यो क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण त्यति सकारात्मक नभएको पाएका छौं । यसैकारण हामीले नीति निर्मातादेखि उपभोक्तासम्मलाई जानकारी गराउन विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौं । प्लाष्ट नेपाल एक्सपो यसैको प्रयाश हो ।

प्लास्टिकको प्रवर्द्धन गर्नका लागि के–कसरी काम गर्न सकिन्छ भनेर हामीले काम गर्दै आएका छौं । प्लास्टिकको सम्बन्धमा नकारात्मक धारणा छ कि वातावरणलाई क्षति ग¥यो भनेर यसमा हामीले कसरी जनचेतना जगाउने र प्लास्टिकको पुनर्प्रयोगका विषयमा प्लास्ट नेपालले काम गर्दै आएको छ । नेपालमा प्लास्टिक भन्नाले आममानिसमा बिहान तरकारी ल्याउने वा प्रयोग गरेर फाल्ने भन्ने मात्र बुझाइ छ । प्लास्टिक भनेको हाम्रो दैनिक जीवनयापनका लागि एकदमै महत्वपूर्ण वस्तु भएको छ ।

बिहान उठेदेखि प्रयोग हुने चस्मादेखि लिएर बेलुकासम्म प्रयोग हुने विभिन्न वस्तुहरू प्लास्टिककै प्रयोग गर्दै आएका छौं । हामीले प्रयोग गर्ने सबै खाले सामग्रीहरू चाहे त्यो मोबाइल गाडी नै किन नहोस्, हाल हामीले प्रयोग गर्ने सबै सामग्री प्लास्टिककै प्रयोग हुँदै आएको छ । प्लास्टिक भनेको दीर्घकालीन रूपमा पनि प्रयोग गर्ने गरी विकास भएको छ । फर्निचर भनेको पाँचदेखि सात वर्ष पनि प्रयोग गर्न मिल्ने खालको रहेको छ । यसको कस्ट इफेक्टिनेसले पनि हेर्नुपर्ने हुन्छ । यसका सकारात्मक कुरालाई लिएर प्लास्टिकको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो ।


वातावरणीय रुपमा हामी सचेत छौं । प्लास्टिकको पुनप्र्रयोगमा सरकारी तथा जनस्तरबाट नै सचेतनामा जोड दिनुपर्छ । पुनप्र्रयोगमा जोड दिएको खण्डमा प्लास्टिकले वातावरण ह्रासमा गर्ने क्षति कम गर्न सकिन्छ । यो सामान्य प्रक्रियालाई जोड दिएर नै हामीले प्लास्ट नेपालको स्थापना गरेको हो । एक्स्पो पनि हामीले नयाँ प्रविधिको प्रयोगमा जोड, नयाँ वस्तु तथा मेसिनको प्रयोग गरेर उत्पादन वृद्धि गर्नेलगायतका जानकारी प्राप्त गर्नका लागि आयोजना गरेको हो । हामीले यो एक्स्पोबाट जानकारी प्राप्त गर्ने नै छौं ।

प्रविधि, कच्चा पदार्थ र जनशक्ति व्यवस्थापन नै चुनौतीपूर्ण

भुवन आचार्य
निर्देशक, टीएसएन बिजनेस ग्रुप

औद्योगिक उत्पादन आफैंमा सहज विषय होइन । प्लास्टिकसँगै सबै उद्योगमा प्रविधि, कच्चा पदार्थ र जनशक्तिको सन्तुलित सम्बन्धले मात्र उत्पादन सम्भव छ । नेपालको सन्दर्भमा दक्ष जनशक्ति अभाव सबैजसो उद्योगको समस्या हो । प्रविधिको कुरा गर्ने हो भने प्लास्टिकमा अलि बढी नै प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यतिमात्र नभै यसको प्रविधि चाँडो विकसित भइरहँदा लगानीमा पनि चुनौती नै छ । प्लास्टिक भनेको निश्चित प्याकेजिङका लागि सोही बमोजिमको कच्चा पदार्थ आवश्यक पर्ने उद्योगसमेत हो । यसको स्टोरेज गर्नदेखि जम्मा गर्न पनि गाह्रो छ भने हाम्रो मार्केट आफैंमा ठूलो नहुँदाको समस्या पनि उत्तिकै छ ।


अहिले औद्योगिक क्षेत्रका समस्या साझा छन् । उद्योगीलाई निरन्तर विद्युतको आपूर्ति गर्न सकेको खण्डमा अझ हाम्रो उत्पादकत्वमा वृद्धि हुनसक्थ्यो भने धेरै सामग्रीमा आत्मनिर्भर हुने अवस्था छ । हामीले यहाँ आत्मनिर्भर भएर निर्यात गर्ने वातावरण पनि विकास गर्नुपर्नेछ । सरकारले हामीलाई भन्सारदेखि अन्य क्षेत्रसम्म सहजीकरण गर्नुपर्छ ।

सिंगल प्लास्टिकको प्रयोग बढ्दो मात्रामा रहेकाले यो क्षेत्र आलोचित छ यसैले यसको पुनप्र्रयोग गर्नका लागि सरकार र निजी क्षेत्र मिलेर पुनःप्रशोधन गर्ने उद्योग विकास गर्नुपर्छ । नेपालमा मात्र हैन, विश्वभर नै पुनप्र्रयोग गर्न उद्योगको विकास भएका छन् । सरकारले नेपालमा पनि पुनप्र्रयोगका लागि उद्योगको स्थापना गर्न र नीतिगत व्यवस्था बनाउनमा सहयोग गर्नुपर्छ । यसले नेपालको प्लास्टिक उद्योगको दीर्घकालीन विकास गर्नमा सहयोग पुग्नेछ ।

हामी आत्मनिर्भर भइसकेका छौं

विनीत अग्रवाल
निर्देशक, इन्टरटेक पाइप्स एण्ड फिटिङ्स


हामी हाउजिङ, अपार्टमेण्ट, निजी घर र विकास निर्माणमा प्रयोग हुने पाइप फिटिङ्सका सामान उत्पादनमा आत्मनिर्भर भइसकेका छौं । यी सामग्रीको बिक्री नेपाली बजारमा पछिल्लो समय बढे पनि त्यसमा सबै वस्तुको उपयोग नेपाली उद्योगको मात्र भइरहेको भने छैन । पीपीआर र यूपीभीसी पाइप उत्पादनमा नेपाल अहिले आत्मनिर्भर बनेको छ ।


पीपीआर फिटिङ्समा काम गर्दै आएको हाम्रो कम्पनीले एचडीपीई पाइपको काम थालेको पनि धेरै भइसकेको छ । सुरूका दिनमा बजारमा स्थापित हुन सजिलो थियो । तर, उत्पादन शुरू गरेको एक वर्षमै हामी ब्राण्ड स्थापित गर्न सफल भयौं । गुणस्तरमा हामीले कुनै सम्झौता नगरेकाले यो सफलता पाएका हौं । बजारको मागलाई ध्यानमा राखेर हामीले पीभीसी पाइप उत्पादन गरेका हौं । अहिलेको बजार भनेकै पीभीसीको हो ।

एउटा घर र उद्योगका लागि चाहिने सबै पाइप फिटिङ्सहरू एउटै छानामुनिबाट ग्राहकलाई उपलब्ध गराउन हामीले यस्तो सोच बनाएका हौं र यसमा हामी सफल पनि भएका छौं ।


ग्राहकहरूले यसलाई ध्यान दिंदै स्वदेशी उत्पादनलाई ग्राह्यता दिनुपर्छ । स्वदेशमै पनि टेन्डरका विभिन्न प्रावधानका कारण विदेशी उत्पादन भित्रिरहेको छ । सरकारले भएकै नीतिहरु कार्यान्वयन गरेर भए पनि स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ । अहिलेको मेलाले यस क्षेत्रलाई संरक्षण र सम्बर्द्धनका लागि सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।

प्लास्टिक उद्योगमा अन्तशुल्क हटाइनुपर्छ

पंकज राठी
निर्देशक, वागमती प्लास्टिक इन्डष्ट्रिज


नेपाली उत्पादन गुणस्तरीय छन् । हाम्रा उत्पादनहरुले अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । हामी अन्तर्राष्ट्रिय बजारमा पनि निकासीका लागि सक्षम छौं तर यसका लागि नीतिगत समस्या बाधक रहेको देखिन्छ । प्लास्टिक उद्योगलाई सरकारले अन्तशुल्क लगाएको छ । हामी आयातित वस्तु नभै मुलुकलाई आत्मनिर्भरताको दिशामा अघि बढाउन खोजिरहेका छौं । वातावरणीय प्रदूषण कम गर्नुपर्छ भनेर हामी पनि सचेत छौं र यसको पुनप्रयोग गर्दै आएका पनि छौं । यसलाई अझ प्रभावकारी बनाउन चाहान्छौं ।


हामीले अन्तशुल्कको किन विरोध गरेका हौं भन्ने पनि लाग्न सक्छ । औद्योगिक प्याकेजिङ मटेरीयलमा अन्तःशुल्क लगाउंदा स्वदेशी उत्पादन महंगो भएको र प्रतिस्पर्धी क्षमता कम भएको छ । यसले गर्दा मुलुकको औद्योगिकीकरणमा नकारात्मक भूमिका खेलेको पनि छ ।


हामीले औषधि उद्योग तथा भेटेरीनरी उद्योगलाई सप्लाई गर्ने उद्देश्यले स्थापीत स्वदेशी प्याकेजिङ उद्योगहरुले प्रयोग गर्ने कच्चा पदार्थ पोलिमरमा आयात गर्दा उद्योग विभागको सिफारिसमा आवश्यक परिमाण सम्मको आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नु पर्ने माग राखेका छौं । यो किन गरेका हौं भने स्वदेशी उत्पादन भन्दा आयातीत वस्तुको भन्सार दर कम भएको अवस्था छ । यसले गर्दा नेपालमा यस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगहरु सञ्चालन हुन कठिनाई भएको, आयातित वस्तु भन्दा कच्चा पदार्थमा भन्सार दर कम्तीमा १ प्रतिशत कम हुनुपर्ने मान्यतामा समेत विरोधाभास भएको देखिन्छ ।


औद्योगिकीकरणमा मेसिनरीको छनोट महत्वपूर्ण हुन्छ

प्रदीपमान प्रधान
अध्यक्ष तथा प्रबन्ध निर्देशक, हिट्को प्रालि


प्रविधिको पछिल्लो विकाससँग साक्षात्कार गर्दै समयानुकूल नीति तर्जुमा गर्न सके नेपाली उद्योगको प्रवद्र्धन गर्न सकिन्छ र यसले आयात प्रतिस्थापन सम्भव छ । मेसिनरी र कच्चा पदार्थबाहेक तयारी वस्तु आयातमा कडाइ नगरी नेपाली उद्योगको प्रवर्द्धन सम्भव देखिँदैन ।


हामीले उद्योगको काम छिटो छरितो र सहज बनाउनका लागि विभिन्न खाले मेसिन भित्र्याइरहेका छौं । खासगरी हाइड्रोलिक मेसिनका सहयोगले उद्योगमा कम जनशक्तिमै कठिन काम गर्न सहज हुने देखिन्छ । हामीले प्लास्टिक उद्योगका लागि मात्र नभै अन्य सबैखाले उद्योगका निमित्त आवश्यक सहायक मेसिनरी उपलब्ध गराइरहेका छौं । होटल, मल तथा रेष्टुराँका लागि बहुतल्ले पार्किङदेखि आगलागी नियन्त्रणका उपकरणहरु बिक्री गर्दै आएका छौं ।


हिट्को ले अहिले ईएलजीआई इक्विपमेन्ट कम्पनीका सामान पनि सप्लाई गर्दै आएको छ । एलजीले अटो पार्ट्स तथा त्यससम्बन्धी विभिन्न इक्विपमेन्ट बनाउँछ । पछिल्लो समय हिट्कोले हाइड्रोपावरको क्षेत्रमा पनि काम गरिरहेको छ । हाइड्रोपावरमा प्रयोग हुने मेसिन, कम्प्रेसर, गाडीको मेसिन, वर्कसपका सामान, आगो निभाउन प्रयोग हुने सिलिन्डरका अतिरिक्त सीसी क्यामेरा तथा ग्यारेज इक्विपमेन्ट नेपालमा ल्याएर विभिन्न क्षेत्रमा सप्लाई गरिरहेको छ ।

कम्पनीले सडकको धूलो उठाउने पम्प, टनेल बोरिङ गर्दा हावा दिने कम्प्रेसर, बोरिङ गर्दा प्रयोग हुने कम्प्रेसर सप्लाई गर्दै आएको छ । सोलार, ट्रान्सफर्मरलगायत सामान पनि बिक्रीवितरण गरिरहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह