Logo

अर्थनीति

चुनावी बजेट आरोपमात्रः उत्पादन बढाउनु, आत्मनिर्भर अर्थतन्त्र हुनु चुनावी कुरा हो र ?


GDP Nepal
   १६ जेष्ठ २०७९, सोमबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७९–८० को बजेट चुनावी बजेट नभएको दावी गरेका छन् । उनले ‘चुनावी बजेट’ भन्ने प्रतिपक्षी दलको आरोपलाई खण्डन गर्दै नियमित र औद्योगिकीकरणतर्फको प्रस्थान बजेटका रुपमा लिन आग्रह गरे ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग अर्थमन्त्रीले भने, “उत्पादन बढाउने कार्यक्रम ल्याउनु, कृषिलाई प्राथमिकतामा राख्नु, आत्मनिर्भर अर्थतन्त्र बनाउँछु भन्नु पनि चुनावी कुरा हो र ?”

मन्त्री शर्माले बजेटबाट आयात प्रतिस्थापनसँगै निर्यातका लागि औद्योगिक वातावरण तय गर्ने आधार प्रस्तुत गरिएको जिकिर गरे । उनले डरलाग्दो आयात रोक्दै स्वदेशमै उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम ल्याइएको उल्लेख गर्दै यसको परिणाम चाँडै देखिने बताए ।

मुलुकमा कृषिजन्य वस्तुको आयात भयावह रहेको कारण सरकारले स्वदेशमै कृषि उत्पादन कार्यक्रममा विशेष जोड दिएको अर्थमन्त्री शर्माको भनाइ छ । “कृषिप्रधान देशको खाद्य क्षेत्रको आयात डरलाग्दो भएकाले हामीले कृषिमा कर्जादेखि उत्पादन र बजारीकरणसम्ममा जोड दिएका हौं,” उनले भने ।

नेपालका प्राकृतिक रूपमा उपलब्ध रहेको साधन स्रोतलाई श्रम शक्ति उपयोग गर्दै विश्वमा उपलब्ध प्रविधि जोड्नुपर्ने मशसुस गरी औद्योगिकीकरणतर्फ अघि बढेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल बजेटलजाई विपन्नमैत्री बनाउने पहल गरिएको दावी गरे । उनले कृषिमा आमूल सुधारको आवश्यकता महशुस गर्दै घरमै कर्जा प्रवाहको व्यवस्था गरिएको धारणा राखे ।

उपाध्यक्ष पौडेलले कृषि र उद्योगबाट आयात रोक्ने नीति रहेको उल्लेख गर्दै कृषिमा ठूलो प्रविधि नचाहिने भएकाले चाँडै परिणाम देखिने बताए ।

बजेट महिलामैत्री रहेको र यसमो उदाहरण स्यानिटरी प्याडमा कर घटाएर दिइएको उनको भनाइ छ ।

आफूहरुले बजेट बनाउँदा उत्पादनविनको उपभोग, वितरणविनाको समृद्धि, प्रतिफलबिनाको खर्च, स्थिरताबिनाको गति र मूल्यांकनबिनाको निरन्तरता जस्ता पाँच विषयलाई निषेध गरेको उपाध्यक्ष पौडेल बताउँछन् ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह