काठमाडौं । आगामी आर्थिक वर्षको बजेटलाई सबैजसो क्षेत्रले सकारात्मक भनिरहँदा पर्यटन क्षेत्रले भने निराशाजनक रुपमा लिएको छ । पर्यटन बजेटमा निजी क्षेत्र लक्षित कार्यक्रम त छैनन् नै, सँगसँगै मन्त्रालयको बजेट पनि घटेको छ ।
गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि २७ अर्ब ४७ करोड रुपैयाँ बजेट ल्याएका थिए ।
यस वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटनतर्फ ९ अर्ब ३८ करोड र हवाई पूर्वाधारतर्फ १२ अर्ब २४ करोड बजेट विनियोजन गरेका छन् । जसअनुसार कूल २१ अर्ब ६३ करोड रुपैयाँ विनियोजन भएको छ ।
यसरी पर्यटन क्षेत्रको बजेट अघिल्लो वर्षको तुलनामा ५ अर्ब ८४ करोड रुपैयाँ घटेको छ ।
कोभिडको असरबाट अझै पनि प्रभाभवित पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकतामा नराखिनुले विभागीय मन्त्रीको अक्षमता र असफलताको मानकका रुपमा हेरिएको निजी क्षेत्रका प्रतिनिधिहरु बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको ध्यान पर्यटन क्षेत्र पुनर्स्थापना भन्दा कमिसन मोहमा रहेका कारण यस क्षेत्र उपेक्षित बनेको एक व्यवसायीले बताए ।
“पर्यटनमन्त्री चर्चामा आउन रुचाउनुहुन्छ तर उहाँलाई यस क्षेत्रको आधारभूत ज्ञानसमेत छैन,” ति व्यवसायीले भने, “पर्यटन र नागरिक उड्डयनमा कहाँबाट कमिसन आउँछ भन्ने उहाँलाई राम्रैसँग थाहा छ तर यस क्षेत्र अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने सामान्य चेतसमेत देखिँदैन ।”
प्रतिक्रिया