Logo

बिजनेस होम

पूर्व महासचिव माधवमणि राजभण्डारीको निधनबाट महासंघले अभिभावक गुमायो


GDP Nepal
   २२ जेष्ठ २०७९, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बैठकले पूर्व महासचिव माधवमणि राजभण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार अध्यक्ष शेखर गोल्छाको सभापतित्वमा भर्चुअल माध्यमबाट भएको शोकसभाबाट शोक प्रस्ताव पारित भएको छ ।

राजभण्डारी ठमेलस्थित होटल एमएमका सञ्चालक हुन् भने उनी राजनीतिमा पनि उत्तिकै सक्रिय थिए । नेपाली कांग्रेस दोलखाको सभापतिसमेत रहिसकेका राजभण्डारीले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारीसमेत दिएका थिए ।

७५ वर्षीय राजभण्डारीको जेठ १२ गते विहीवार निधन भयो । स्वास्थ्यमा समस्या आएपछि उनी ह्याम्स अस्पतालमा उपचाररत थिए ।

महासंघमा वि. सं. २०३२–३४ मा कार्यकारिणी समिति सदस्य र २०३५–४१ को कार्यकालमा उनी महासचिव पदमा निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा महासंघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निभाएका राजभण्डारीको निधनले निजी क्षेत्रले अभिभावक गुमाएको छ ।

महासंघका अनुसार तत्कालिन अवस्थामा त्यति उद्योग व्यवसाय फस्टाएको थिएन तैपनि उद्योग व्यवसायको विकासमा के गर्न सकिन्छ भनेर त्यसवेलाको टिममा स्वर्गीय राजभण्डारी सधै सक्रिय भएर लागेका थिए ।

महासंघको सचिवालयको सुदृढीकरणमा पनि उनले आफ्नो कार्यकालमा निकै मेहनत गरेको महासंघका त्यसका वेलाका दस्तावेजहरुमा उल्लेख गरिएको पाइन्छ ।

समकालिन अन्तर्राष्ट्रिय व्यवसायिक संघ संस्थाहरुसंग महासंघको संस्थागत सहकार्यको थालनी गर्नमा उनको ठूलो योगदान थियो ।

तत्काल निर्णय गर्न सक्ने क्षमताका साथै निजी क्षेत्रमा स्पष्ट वक्ताको रुपमा परिचित स्वर्गिय राजभण्डारी महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरुमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरुमा सशक्त एवं बलियो आवाज राख्ने व्यक्तित्वको रुपमा परिचित थिए ।

देशको अर्थतन्त्र बलियो भए मात्र विकास सम्भव छ भन्ने मान्यता राख्ने पूर्व महासचिव स्वर्गीय राजभण्डारीले आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिका, योगदानका साथै देशको उद्योग व्यवसाय विस्तारमा निभाउनु भएको भूमिकालाई सम्पूर्ण निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने महासंघले जनाएको छ ।

विभिन्न सामाजिक एवं शैक्षिक संघ संस्था,गुठी, शैक्षिक प्रतिष्ठानमा रहेर स्वर्गीय राजभण्डारीले उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक, सामुदायिक, पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएको पाइन्छ ।

उनको जन्म जिल्ला दोलखामा शैक्षिक र धार्मिक संघ संस्था मार्फत उहांले निकै धेरै परोपकारी कामहरु गरेका थिए ।

स्वर्गीय राजभण्डारीका श्रीमती, तीन छोरी र एक छोरा छन् । पूर्व महासचिव स्वर्गीय राजभण्डारीको निधनबाट निजी क्षेत्रलाई अपूरणीय क्षति पुग्न गएको तथा महासंघले आफ्ना अग्रज गुमाएको जनाएको छ ।

शोक सभामा महासंघका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी व्यवसायीहरू, स्वर्गीय राजभण्डारीका सुुपुत्र नितिन राजभण्डारी, महासंघ सचिवालयका महानिर्देशक सहित कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह