Logo

अर्थनीति

वस्तुगत संघहरुको दबाबपछि बजेटबारे उद्योग वाणिज्य महासंघको धारणा फेरियो !


GDP Nepal
   २७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटलाई प्रशंशा गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघको धारणा अन्ततः फेरिएको छ । जेठ १५ मा प्रस्तुत बजेटबारे महासंघ नेतृत्वले संस्थागत रुपमा तथा नेतृत्व तहले मुक्त कण्ठले प्रशंशा गरेको थियो ।

महासंघको सकारात्मक प्रतिक्रिया आइरहँदा विभिन्न वस्तुगत संघले बजेटका कतिपय व्यवस्थाप्रति आपत्ति जनाइरहेका थिए । नेपाल बनस्पती घ्यू तेल उत्पादक संघको यस्तो कार्यक्रममा त महासंघ अध्यक्ष शेखर गोल्छा स्वयं उपस्थित भएर सरकारको कदमको विरोध गरेका थिए ।

पूर्वी नेपालमा कतिपय व्यवसायीले सडकमै ओर्लिएर विरोध जनाउन थालेपछि महासंघले दबाब थेग्न सकेन र अन्ततः शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आर्थिक ऐनमा भएका व्यवस्थाहरु संशोधनका लागि आग्रह गरेको छ ।

महासंघले भंसार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोतर्पm नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“बिनापरामर्श र उद्यमी व्यवसायीको राय सुझाव विपरित एकतर्फीरूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल संवोधन गर्न महासंघ सरकारसंग माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

स्टिल रोलिङ मिल तथा एम एस वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरू लगायतका उद्यम व्यवसाय बजेटमा गरिएका व्यवस्थाका कारण बन्द हुने अवस्थामा पुगेको संघले जनाएको छ ।

बजेट वक्तव्यमा एमएसवायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महसुल ५ बाट १० प्रतिशत र अन्तःशुल्क प्रतिटनमा २ हजार ५ सयबाट ४ हजार ५ सय पु¥याईदा वायर स्टिल उत्पादन गर्ने उद्योगले आयातित वस्तुहरूसंग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुुगेको उल्लेख छ ।

यसैगरि प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भंसार महशुल कायम गरी उक्त आयल प्रयोग गर्ने उद्योगहरुलाई सिधै आयात गर्न दिने नीतिले सञ्चालनमा रहेका वनस्पती घिउतेल उद्योगहरू गम्भीर संकटमा जाने देखिने जनाइएको छ ।

“यो व्यवस्था स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी वस्तुुमा कम्तीमा १ तहको फरक भंसार दर कायम गर्ने सरकारको नीतिको विपरित पनि छ,” महासंघले भनेको छ ।

स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरूले तिर्दै आएको भन्सार महसुल, अन्तःशुल्क तथा कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल यथावत राखी तयारी प्याड आयातमा लाग्ने भंसार शुल्कमा ९० प्रतिशतसम्म छुट दिदा स्वदेशी उद्योगको प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग नै बन्द हुने परिस्थिति सृजना भएको महासंघको भनाइ छ ।

भन्सारमा अन्तःशुल्क लगाउने व्यवस्थाले गर्दा विभिन्न तहमा हुने औद्योगिक उत्पादनलाई प्रत्यक्ष असर पर्ने भएकाले कच्चा पदार्थमा भंसारमै अन्तःशुल्क लगाउने व्यवस्था अन्त्य गर्न पनि महासंघले माग गरेको छ ।

आगामी आर्थिक वर्ष निर्यात दोव्वर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने भनि बजेटमा उल्लेख भएकोमा उत्साहित भएका उद्यमी व्यवसायीलाई यी प्रावधानले निराश बनाएको उल्लेख छ ।

“अतः दर्जनौं स्वदेशी उद्योग व्यवसाय सदाका लागि बन्द भई हजारौ रोजगारी गुम्ने अवस्था देखिएको हुदा यस्ता प्रावधानलाई तत्काल संसोधन गर्न महासंघ सरकारसंग जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह