Logo

बिजनेस होम

काठमाडौंमा राँगा काट्न नपाइने, हेटौंडाबाट फ्रिजर भ्यानमा ढुवानी गरिने


appharu
   २६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताए ।

उनले भने, ‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन्।’

शुक्रबार रिपोर्टर्स क्लबमा मन्त्री खनालले काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पुरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने योजना रहेको जानकारी दिए ।

हेटौंडामा रहेको पूरानो बद्यशालालाई पूनः सञ्चालनमा ल्याउनेबारे सरकारले तयारी गर्ने पनि जानकारी दिए । उनले भने, ‘दैनिक ४ सय राँगा काट्न सकिन्छ । हेटौंडालगायत अन्य ठाउँमा बध गरेर काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न सकिन्छ । सरकारले यसबारेमा पनि सोचेको छ ।’

काठमाडौंमा मासुको अनुगमन गरिरहेको भन्दै उनले नेपालमा मासुको प्रयोग बढिरहे पनि नियमन भने हुन नसकेको बताए ।

मन्त्री खनाल भन्छन्– राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ । काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन् । बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं । राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन् । तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ । त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ । प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित् रहेकोले हामीले बन्द गर्यौं ।’

बधशालालाई व्यवस्थित गर्नको लागि मासु जाँच ऐन–२०५५ जारी गरिएपनि कार्यान्वयन नभएकोमा उनले गुनासो पोखे । उनले थपे,‘नेपालमा ऐन पारित गर्ने तर कार्यान्वयन नहुने समस्या छ । अब कार्यान्वयनतर्फ ध्यान दिनपर्छ । ऐन कार्यान्वयन नहुँदा मासुको स्थिति राम्रो देखिएन् ।’

उनले आफूहरुले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे । उनले भने,‘अरु मासुपनि व्यवस्थित छैनन् । तर, राँगाको मासु खानलायकको छैन् ।’
मन्त्री खनालले अनुगमनपछि २२ पानी उद्योगमा ताला लगाएको सुनाउँदै अहिले सुधारउन्मुख रहेको बताए ।
उनले भने,‘त्यस्तै दुधमा पनि अनुगमन गरेका थियौं । अहिले दुधमा ९२ प्रतिशत सुधार भएको छ । गुणस्तर कायम गरेका छौं ।’

उनले एक वर्षसम्म खाद्य सुरक्षा अभियान सञ्चालन गर्नेपनि जनाए । खनालले भने,‘एक वर्षसम्म नै खाद्य सुरक्षा अभियान चलाउँछौं । चार वटा मोवाईल भ्यानमार्फत अभियान चलिरहेको छ । अझैसम्मपनि सञ्चालनमा नआएकोले मैले तत्काल नै सञ्चालन गर्नको लागि खाद्य तथा गुण नियन्त्रक विभागलाई निर्देशन दिईसकेको छु । यसलाई दशैं तथा तिहारलगायत चाडपर्वमा मात्रै नभएर वर्षैभरि सञ्चालन गर्नुपर्छ । दशैं तथा तिहारमा मात्रै अनुगमन गर्ने हो भने अनुगमन तथा नियामक निकायलाई खारेज गर्दा हुन्छ।’

प्रकाशित : २६ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह