Logo

बिजनेस होम

आर्थिक वृद्धिदर ५.८९ प्रतिशत, मुद्रास्फीति २.८२ प्रतिशत


appharu
   १२ बैशाख २०७५, बुधबार


काठमाडौं, १२ वैशाख । चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । यस्तै, चालू आवको कृषि क्षेत्रको कूल मूल्य अभिवृद्धि २ दशमलव ८२ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो ।

केन्द्रीय तथ्याँक विभागद्वारा बुधबार सार्वजनिक गरिएको आव २०७४/७५ को राष्ट्रिय लेखा तथ्याँकमा विगतका तीन वर्षमा कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको र सेवा क्षेत्रको योगदान बढ्न गएको देखिएको छ ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्र गरी तीन समूहमा विभाजन गरी तथ्याँक विश्लेषण गर्ने गरिन्छ । सार्वजनिक भएको सो लेखा तथ्याँकमा प्राथमिक क्षेत्रअन्तर्गतका कृषि तथा वन, मत्स्य र खानी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा २८ दशमलव २१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ ।

चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा उल्लेख्य वृद्धि नभए तापनि पुनःनिर्माणका लागि वन पैदावारका सामग्री र उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सो क्षेत्रमा उत्पादन वृद्धि भएको जनाइएको छ ।

यसैगरी, द्वितीय क्षेत्रअन्तर्गतका निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानीले कूल गार्हस्थ्य उत्पादनमा १४ दशमलव १८ योगदान दिएको अनुमान गरिएको छ । पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता, ऊर्जा क्षेत्रको विस्तार, औद्योगिक क्षेत्रमा भएको उत्पादन वृद्धिले त्यसमा उल्लेख्य योगदान दिएको हो ।

सेवा क्षेत्रअन्तर्गत रहेका थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुराँ, यातायात, सञ्चार, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन, शिक्षा, स्वास्थ्यलगायतले कूल गार्हस्थ्य उत्पादनमा ५७ दशमलव ६१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ ।

स्वदेशी वस्तु उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा वृद्धि र विद्युत् आपूर्तिमा भएको सहजताले सामाजिक सेवामा उल्लेख्य सुधार हुँदै गएको देखिएको छ ।

तथ्याँक विभागका महानिर्देशक सुमनराज अर्यालले कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २७ दशमलव १० र गैर कृषि क्षेत्रले ७२ दशमलव ९० प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। रासस

प्रकाशित : १२ बैशाख २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह