Logo

बिजनेस होम

विश्वकै उच्च स्थानमा रहेको होटल एभरेष्ट इन बनाउँदाका दुःख यसरी सम्झिए पासाङ छिरिङले !


GDP Nepal
   २८ असार २०७९, मंगलबार


काठमाडौं । सोलुखुम्बुको गोरक्षेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँमा रहेको ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले ‘वर्ल्ड बुक्स अफ रेकर्डस्’ मा आफ्नो नाम लेखाउन सफल भएको छ ।

समुद्री सतहदेखि ५ हजार १ सय ८० मिटर उचाईमा अवस्थित यस होटलले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेकै कारण वर्ल्ड बुक्स अफ रेकर्डसमा आफ्नो नाम लेखाउन सफल भएकोे हो ।

सबैभन्दा अग्लो स्थानमा होटल सञ्चालन गरी विश्व र्कितिमानी कायम गर्ने यो नेपालकै पहिलो होटल समेत रहेको छ ।

सन २००४ मा १२ कोठाबाट सुरुवात गरिएको यस होटलमा हाल ५७ कोठा सञ्चालनमा रहेका छन् ।

विश्व कीर्तिमानी कायम गरेसँगै होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई एक कार्यक्रमका माझ विश्व कीर्तिमानीको आधिकारिक प्रमाणपत्र समेत हस्तान्तरण गरिएको छ । शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र वर्ल्ड बुक्स रकर्डस् लण्डनका नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा प्रबन्धक निर्देशक शेर्पाले होटल निर्माणका सुरुवाती अनुभव र चुनौतीहरुको स्मरण गरे । भौगोलिक विकटताकै कारण सुरुवाति दिनहरुमा होटल निर्माण कार्य निकै जटिल रहेको उनले बताए ।

होटलका भवनहरु भूकम्प प्रतिरोधी रहेको बताउँदै शेर्पाले ०७२ सालको भूकम्पले केही पनि क्षति नभएको जनाए । यस्तै, पूर्वाधार निर्माणमा भने निकै लागत र जनशक्ती खर्च भएको उनले बताए ।

‘पूर्वाधार निर्माण गर्दा मैले एक बोरा सिमेन्टको १२ हजार रुपैयाँ समेत तिरको छु,’ उनले भने, ‘सुरुवाती दिनहरुमा माइनस १५ डिग्रिमा समेत आईसमाथि टेन्ट लगाएर काम अघि बढाएका थियौँ ।”

निर्माण कार्यमा प्रयोग भएका सम्पूर्ण सामान काठमाडौँबाटै ल्याउनु पर्ने भएका कारण लागत खर्च सोचेको भन्दा केही महंगो पर्न गएको उनले बताए ।

“त्यहाँ सेतोमा हिँउ र कालोमा ढुंगाबाहेक केहीपनि देखिँदैन । त्यहाँ केही उब्जाउ पनि हुँदैन । निकै महंगो शूल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ,” उनले भने, “सुरुवाती दिनमा त बत्तीको लागि समेत सोलार पावर र पानीको लागि पाइपिङको प्रयोग गर्नुपर्यो ।”

होटल निर्माणका सबै काम कार्यहरु व्यक्तिगत रुपमा नै सम्पन्न भएको जनाउँदै शेर्पाले यसमा आफूले एक प्रतिशत पनि सरकारी अनुदान नलिएको बताए ।

यस्तै, होटल भवन बनाउने समयमा सो स्थानमा फोनको टावर नभएकाले स्याटलाईट फोनको प्रयोग गर्दा आफूले नेपाल टेलिकमलाई प्रति महिनामा एक लाख ८० हजारसम्म तिरेको उनले बताए ।

“होटल निर्माणको क्रममा मैले टेलिकमलाई लाखौँ तिरेँ तर, पछि मैले आफूलाई जस्तै अन्यलाई समस्या नपरोस् भनेर सञ्चार सुविधा उपलब्ध गराउन टेलिकममा निवेदन दिए र आफ्नै जग्गामा टावरदेखि ब्याट्री समेत राख्ने सुविधा मिलाइदिएँ,” उनले भने ।

शेर्पाले अनेक दुख र चूनौतिका बाबजुद आफूले सफलतापूर्वक होटल सञ्चालनमा ल्याउनका साथै वल्र्ड रेकर्ड समेत बनाएकोमा खुसि व्यक्त गरे । उनले भने, “आज यो उपलब्धि कायम गर्न पाउँदा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुशी लागेको छ ।”

यस्तै, कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यो रेकर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन क्षेत्रमा नयाँ आयाम थपिएको बताए । यस्तै, कोभिडबाट थलिएको पर्यटन व्यसायलाई कसरी पुनस्र्थापित गर्ने भन्नेमा मन्त्रालयले विभिन्न कार्यक्रम र एजेन्डाहरु घोषणा गर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा रेकर्ड होल्डर निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पा, गायक निर्णय श्रेष्ठ, मिलन गुरुङ, अजय अधिकारी सुशील, फोटोग्राफर हरि गोपाल प्रधान लगायत अन्यको उपस्थिति रहेको थियो।

 

प्रकाशित : २८ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह