Logo

अर्थनीति

नागरिकलाई ङ्याकेर कर असुल्ने अनि आफ्ना मान्छेलाई वितरण गर्ने ?


appharu
   १६ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । डुइङ बिजनेस इन्डेक्समा नेपालको स्थिति खस्किएसँगै केपी ओली सरकारको समृद्धिको नारामाथि नै प्रश्न उठ्न थालेको छ ।

मुलुकको समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य रहेको तर लगानीका लागि सबैभन्दा महत्वपूर्ण आधार मानिएको डुइङ बिजनेस इन्डेक्समा नेपालको स्थान गत वर्षभन्दा ५ स्थानले तल खस्किएको छ ।

ओली सरकारमा कामभन्दा भाषणमा बढी विश्वास गर्नेहरुको जमात हावी हुँदै जाँदा यस्तो अवस्था आएको अर्थशास्त्रीहरुको ठहर छ । यस्तै विश्वास गर्नेहरुमा एक हुन् – युवा अर्थशास्त्री डा. विश्व पौडेल ।

डुइङ बिजनेस इन्डेक्समा नेपालको अवस्था खस्किएपछि उनले आफ्नो फेसबुकमा संक्षिप्त टिप्पणी राखेका छन् ।

प्रस्तुत छ, उक्त टिप्पणी जस्ताको तस्तैः

अर्थमन्त्रीले पोहोर साल श्वेतपत्रमा हाम्रो अर्थतन्त्र झुर छ भनेर न्यारेटिभ बिल्ट गर्ने क्रममा उल्लेख गर्नुभएको एउटा सूचकांक डुइङ बिजनेस इन्डेक्स पनि थियो (हेर्नुुस्ः श्वेतपत्र बुँदा ८) । पोहोर साल उक्त वरियता क्रममा हाम्रो स्थान १०५ औं थियो । भारतको १०० औं थियो । श्रीलंका १११ औं थियो ।

परार साल हाम्रो स्थान १०७ औं थियो । भारत १३० औं थियो । श्रीलंका ११० औं थियो । पोहोर साल हाम्रो २ स्थान ले सुधार भएको थियो ।

यसपाली नयाँँ वरियता आएको छ । यस अनुसार वरियताक्रममा हाम्रो स्थान ११०ं औं छ र हामी भारत (७७ औं), भुटान र श्रीलंका १०० औं स्थानमा, पोहोर भन्दा उल्लेखनीय ११ स्थान सुधार) भन्दा पछाडि परेका छौं । यसपाली हामी झन खस्केका छौं। छिमेकी भारत भने गएको दुई वर्षमा नै १३० औं स्थान बाट ७७ औं मा उक्लेको छ ।

(कुल १९० मुलुकको वरियताक्रम निर्धारण गरिएको छ।)

अर्थमन्त्रीलाई यी वरियता क्रमको बारेमा थाहा पनि थियो, वहाँँले पूर्व सरकारले छोडेको अर्थतन्त्रको बारेमा मूल्यांकन गर्दा यो उल्लेख पनि गर्नु भयो । मलाई के आशा थियो भने अब भारतमा जस्तै यो वरियताक्रममा देशलाई माथि पार्न मुलुकमा काम होला । तर, एकसेएक भाषणबाज भएको हाम्रो देशमा आफैंले भनेका कुराहरुमा फलोअप नगर्ने चर्को प्रवृत्ति छ ।

उच्च पदमा रहेका अधिकांश व्यक्तिहरु भाषण गर्नु नै शासन गर्नु हो झैँ गर्छन्, जसले गर्दा भाषण नै हास्यास्पद हुने र दिगो प्रगती हासिल नहुने स्थिती छ । उदाहरणको लागि हामीले सुनेको सडकका खाल्डाखुल्डी वैशाख १५ सम्म पुर्ने, असोजसम्म पानी ल्याउनेजस्ता ड्यु डेट गए । अब, जहाँँसम्म लाग्छ, पुससम्म पानी जहाज चढाउने अर्को ड्यु डेट आउँदैछ ।

सरकारी आँकडा अनुसार २०७४ साउन देखी माघसम्म १४ अर्ब ३४ करोड वैदेशिक लगानी भित्रिएकोमा वर्तमान सरकार आएपछी फागुनदेखी असारसम्म जम्मा ३ अर्ब १७ करोड मात्र लगानी भित्रिएको थियो । सरकारको मुख्य लक्ष्य आफ्ना नागरिकलाई ङ्याकेर कर बढी उठाउने र विभिन्न नाममा आफ्ना मान्छेहरुलाई वितरण गर्ने मात्र हैन ।

दिगो बिकासका स्रोतहरु पहिल्याउने पनि हो । स्वदेशी विदेशी लगानिको बातावरण नबनाइ यो मुलुक अगाडि बढ्दैन र त्यसका लागि लगानिकर्ताहरुको विश्वास जित्नसक्नुपर्छ । स्थिति यस्तो छः म अहिले उद्योगी व्यवसायीहरुसँग बस्दा उनीहरु कोही पनि उद्योगमन्त्रीसँग खुशी भएको कुरा गर्दैनन् बरु अनपेक्षित महेश बस्नेत राम्रा थिए भन्छन् ।

यो वर्षको डुइङ बिजनेस र्याङ्किङले सरकारलाई आफ्ना अहिलेसम्मका नीति, नेतृत्व र कार्यक्रमहरु समीक्षा गर्न प्रेरणा दिओस भन्ने आशा गरौं ।

प्रकाशित : १६ कार्तिक २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह