नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNI) को नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो । यससँगै, अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बन्नुभएको छ ।
नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध व्यवसायी हुनुहुन्छ । उहाँले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गर्नुभएको छ ।
मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निङ चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी (कम्यूनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप चेयर) निर्वाचित हुनुभएको छ ।
यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशीलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताउनुभयो । “सबैका लागि अनुकूल नीतिहरूको वकालत गरी नेपालको अर्थतन्त्रको विकास र निर्माणमा हामी लाग्नेछौं” उहाँले भन्नुभयो ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २०१७ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल हुनुहुन्थ्यो । अग्रवाल हाल नेपाल उद्योग परिसंघको अध्यक्ष हुनुहुन्छ । युवा उद्यमी मञ्चले हालै सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको सफल कार्यक्रम संचालन गरेको थियो । उक्त फेस्टमा ७ वटा स्टार्टअपले २४ करोड ५० लाख रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेका थिए ।
प्रतिक्रिया