Logo

राजनीति

मजदुर दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना


appharu
   १८ बैशाख २०७५, मंगलबार


काठमाडौं, १८ वैशाख । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै सन्देशमार्फत शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले विश्वविश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा भण्डारीको छ ।

राष्ट्रपति भण्डारीले यस दिवसले आफ्नो अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गरी विश्वभरीका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरिेकी छन् । उनले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।

मजदूर दिवसको उपलक्ष्यमा दिएको सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको बताएका छन् ।

नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्रीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेको विज्ञप्तिमा जनाइएको छ ।

श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको कुरा उल्लेख गर्दै सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

“अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य छ, श्रम शोषणको शिकार हुन विवश छ । रोजगारीका लागि ज्यानको समेत जोखिम मोलेर बिरानो भूमिमा कठिन र कष्टकर श्रममा समेत संलग्न हुन बाध्य नेपाली युवा श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशील छ,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “त्यसैले सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको र सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध छ ।”

प्रकाशित : १८ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह