Logo

अर्थनीति

महासंघ निर्वाचनः ढकाल निर्णायक, समर्थनका लागि उम्मेदवारहरुको रस्साकस्सी


GDP Nepal
   १३ भाद्र २०७९, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीका आकांक्षीहरुको चुनावी दौड बाक्लिएको छ । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था यथावत रहने भएसँगै आकांक्षीहरु चुनावी रणनीति बनाउन व्यस्त देखिएका छन् ।

महासंघ वरिष्ठ उपाध्यक्षमा हालको कार्यसमितिका तीन उपाध्यक्षसहित एक पूर्व उपाध्यक्ष गरी कूल चार आकांक्षी रहेका छन् । महासंघको जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईसँगै पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

महासंघ वरिष्ठ उपाध्यक्षका चार आकांक्षीमध्ये अहिलेसम्म बलियो माहौल कसैको पक्षमा नदेखिएको जानकारहरु बताउँछन् । माहौल निर्माण गर्ने पूर्वअध्यक्षहरुमध्ये चण्डीराज ढकालबाहेक अन्य पूर्व अध्यक्षहरु कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन् ।

पूर्वअध्यक्षहरुबीच सहमति गराएर एउटै उम्मेदवार अघि सार्ने प्रयास भइरहे पनि त्यो सफल हुने अवस्था नरहेको एक व्यवसायी बताउँछन् । त्यसो त पूर्व अध्यक्षहरुको समूहले यसअघिको निर्वाचनमा समर्थन गरेका किशोरकुमार प्रधानको पराजयसँगै यो समूहको शक्ति महासंघमा प्रभावशाली नरहेको टिप्पणी पनि गर्न थालिएको छ ।

पूर्वअध्यक्ष ढकाल भने उमेशलाल श्रेष्ठसँगै देश दौडाहामा रहेका कारण उनको समर्थन श्रेष्ठलाई रहने बताइएको छ । यद्यपि निर्वाचन आउन अझै ८ महिना बाँकी रहेकाले अन्तिम समयसम्म समीकरण कस्तो बन्छ भनेर यसै भन्न सकिने अवस्था छैन ।

महासंघ वरिष्ठ उपाध्यक्षका एक प्रत्यासीका अनुसार आउँदो निर्वाचनपछि स्वतः अध्यक्ष निर्वाचित हुने हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नै आसन्न निर्वाचनमा निर्णायक बन्ने देखिएको छ । “ढकालको समर्थन जसले पाउँछ, ऊ नै बलियो उम्मेदवार हो,” ति आकांक्षीले भने ।

ढकालको समर्थन कसलाई ?
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको आसन्न निर्वाचनमा कुनै उम्मेदवारको पक्षमा भोट नमाग्ने स्पष्ट पारिसकेका छन् । ढकालले यसअघि आफैंले वरिष्ठ उपाध्यक्षको रुपमा प्रतिस्पर्धा गरिरहँदा तत्कालीन वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एक उम्मेदवारको पक्षमा लागेका कारण आफूले त्यस्तो गल्ती नगर्ने सार्वजनिक प्रतिवद्धता जनाएका थिए ।

ढकाल निकट स्रोतका अनुसार आसन्न निर्वाचनमा ढकालको खुला समर्थन कुनै पक्षलाई हुने छैन । “उहाँले सबै उम्मेदवारहरुले बोलाएका कार्यक्रममा जानुहुन्छ र शुभकामना दिनु हुनेछ,” ढकाल निकट एक व्यवसायीले भने, “उहाँ आफ्नो प्रतिवद्धतामा प्रतिवद्ध हुनुहुन्छ र कुनै उम्मेदवारको पक्षमा आफूलाई उभ्याउनु हुन्न ।”

ढकालले खुला समर्थन नगरे पनि उनको भित्री समर्थनका लागि वरिष्ठ उपाध्यक्षका चार जना प्रतिस्पर्धी नै प्रयासरत छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई अघिल्लो निर्वाचनमा ढकालकै टिमबाट निर्वाचनमा होमिएको भन्दै आफूले समर्थन पाउनेमा ढुक्क देखिएका छन् ।

यद्यपि, जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ पनि ढकालसँगको आफ्नो लामो संगत र सहकार्य तथा आफ्नो क्षमता ढकालले चिनेका कारण आफूलाई समर्थन गर्नेमा आशावादी देखिएका छन् ।

अर्का आकांक्षी अञ्जन श्रेष्ठ पनि ढकालको समर्थनका लागि प्रयाशरत छन् । ढकाल र श्रेष्ठबीच अघिल्लो निर्वाचनमा नै कुनै सहमति र सहकार्य भएको चर्चाबीच आगामी दिनमा यसलाई थप बलियो बनाउन सकिने अवस्था देखिएको श्रेष्ठनिकट एक व्यवसायीले बताए ।

ढकालले भने आफू विवादमा नपरी सवै पक्षको विश्वास जितेर सौहार्दपूर्ण सम्बन्ध विकास गरी आसन्न निर्वाचनपछिको कार्यसमितिमा सहज वातावरण निर्माणका निमित्त प्रयाश गर्ने बताएका छन् ।

यसअघिका तत्कालीन वरिष्ठ उपाध्यक्षहरु भवानी राणा र शेखर गोल्छाले एक पक्षको समर्थनमा आफूलाई उभ्याउँदा निर्वाचनपछि काम गर्न गाह्रो भएको उनको बुझाइ छ ।

महासंघमा सात प्रदेश उद्योग वाणिज्य संघ ११८ जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, १२३ वस्तुगत संघहरु, २० द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तथा १ हजार ८ सयभन्दा बढी एशोसिएट सदस्यहरु रहेका छन् ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह