Logo

बिजनेस होम

भदौ १६ को त्रासदीः १८ वर्षअघि देउवाकै कार्यकालमा फैलिएको थियो साम्प्रदायिक दंगा !


GDP Nepal
   १६ भाद्र २०७९, बिहिबार


काठमाडौं । आज भदौ १६ गते । धेरै नेपालीले भदौ १६ लाई वर्षा ऋतु समाप्त हुने सिजनको सामान्य दिनका रुपमा लिइरहे पनि नेपाली इतिहासमा यस दिनलाई कालो दिनका रुपमा लिने गरिन्छ ।

२०६१ सालमा इराकमा एक दर्जन नेपालीको हत्या भयो । हत्या सामान्य थिएन । उनीहरुलाई तड्पाएर गरिएको हत्याको भिडियो पनि इन्टरनेटमा भाइरल बनाइयो । अहिलेजस्तो इन्टरनेटमा त्यतिबेला सहज पहुँच थिएन भने स्मार्ट फोन आएकै थिएनन् ।

इराकी आतंककारी समूह अन्सर अल सुन्नाले कामका लागि इराक लगिँदै गरेका १२ जना नेपालीलाई बन्धक बनाएको थियो । तीमध्ये एकजना बन्धकले अश्रुमिश्रित स्वरमा पुकारा गरेका थिए :

‘मेरो नाम मंगलबहादुर लिम्बु हो । हात्तीखर्क खमारे वार्ड नं. ४, जिल्ला धनकुटा, कोसी अञ्चल, पूर्व नेपाल । धनरूपको छोरा म । मेरो दाइ हर्कबहादुर । मेरो आमा पञ्चमाया लिम्बु । मेरो एजेन्सी नेपालको प्रल्हाद गिरीले मलाई अहिले यहाँ फसाइरा’छ । पहिला उल्ले मलाई ओमान (जोर्डन) मा डेढ महिना राखेपछि नेपाल जान खोज्दा पनि नेपाल जान दिएन । भोलि भोलि भन्दा भन्दै इराक पठायो । इराक पठाउँदाखेरी आज हाम्लाई बीच बाटोमा पक्रेर हामीलाई आजै मार्दैछ । त्यसैले गर्दाखेरी यो हाम्रो अन्तिम भेट हो । जसरी भए पनि उल्लाई कारबाही गर्नु होला ।’

२०६१ भदौ ४ गते इराकी आतंककारी समूह अन्सर अल सुन्नाले कामका लागि भनेर त्यहाँ लगिँदै गरिएका १२ जना नेपालीलाई अपहरण गरी नियन्त्रणमा राखेको समाचार सार्वजनिक भएको थियो । समाचारमा अरबी टेलिभिजन अलजजिराबाट बन्धक बनाइएका नेपालीहरूका आर्तनाद सार्वजनिक भएको थियो । त्यसको दुई दिनपछि भदौ ६ गते नेपाल टेलिभिजनले अलजजिरामा आएकै बन्धकहरूको आर्तनाद र जीवनरक्षाको पुकारलाई प्रसारण गरेको थियो । बन्धक बनाइएका १२ नेपालीमध्ये १० जनाको अभिव्यक्ति टेलिभिजनबाट प्रसारण भएको थियो ।

धेरै नेपालीले साइबर गएरै हेरेको त्यो भिडियो क्षणभरमै भाइरल बन्यो र भदौ १६, २०६१ सालमा नेपालमा जताततै तोडफोड भयो । सुरुवाती चरणमा सरकार निष्कृय बन्दा आन्दोलनले हिंस्रक र साम्प्रदायिक रुप नै लिन थालेपछि साँझपख बल्ल सरकारले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको थियो ।

आन्दोलनकारीका निशानामा थिए, नेपालका म्यानपावर कम्पनीदेखि मस्जिदसम्म । मुस्लिम समुदायलाई त्यो बेला ज्यान जोगाउनै मुस्किल थियो, जबकि त्यतिबेलाको मन्त्रिपरिषदमा शक्तिशाली सञ्चार मन्त्रालय सम्हालिरहेका थिए डा. मोहम्मद मोहसिनले ।

मोहसिन राजाका विश्वासपात्रका रुपमा राष्ट्रियसभा सदस्य हुँदै दलीय सरकारमा राजाकै प्रतिनिधिका रुपमा थिए । १९ वर्षअघि संयोगवश त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै थिए ।

देउवा अघिल्लोपटक (२०५९ असोज १८) मा तोकिएको समयमा निर्वाचन गर्न नसकी असक्षम भनेर बर्खास्त भएको डेढ वर्षमै सरकारको नेतृत्वमा पुगेका थिए र नेकपा एमालेले प्रतिगमन आधा सच्चिएको भन्दै देउवा सरकारमा सहभागिता जनाएको थियो ।

आन्दोलनकारीहरुले दरबारमार्गमा रहेका दुवै मस्जिद तोडफोड गरेका थिए भने बागबजार क्षेत्रमा रहेका मुश्लिम समूदायका पसलहरु पनि लुटपाट गरेका थिए ।

जमिम शाहले सञ्चालन गरेको स्पेशटाइम दैनिक र स्पेश टाइम टेलिभिजनमाथि आक्रमण भएका कारण सोही दिनबाट स्पेशटाइम सधैँका लागि बन्द हुन पुग्यो । कान्तिपुर दैनिक कार्यालयमा पनि आक्रमण भएकाे थियाे ।

पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको कालोपुलस्थित घर लुटपाट गर्दै त्यहाँ रहेका प्राडोसहित दुई गाडीमा आगजनी पनि गरिएको थियो ।

म्यानपावरका बोर्ड रहेका सबैजसो कार्यालयमा तोडफोड भएको थियो । म्यानपावरहरुबाट पासपोर्ट निकालेर सडकमा प्रदर्शन समेत भएको थियो ।

सरकारले गठन गरेको छानबीन समितिको प्रतिवेदन अनुसार इराकमा नेपाली मारिएको घटनाको प्रतिशोधस्वरुप राजधानीमा भएको उक्त आन्दोलनबाट कूल १ अर्ब २ करोड क्षति भएको छ । प्रहरीको प्रतिवेदनबाट ८६ करोड १२ लाख क्षति भएको तथ्यांक छ ।

भदौ १६ को तोडफोड रोक्न सरकारले ढिलै भए पनि कर्फ्यु लगाएर बुद्धिमत्तापूर्ण कार्य गरे पनि उक्त घटनामा संलग्नहरुलाई कारबाही गर्न नसकी दण्डहिनतालाई भने प्रश्रय दिएको देखिन्छ ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह