Logo

अर्थनीति

बैंकर अशोक शेरचनको अध्यक्षतामा नेपाल रसिया चेम्बरको नयाँ कार्यसमिति


GDP Nepal
   ७ आश्विन २०७९, शुक्रबार


काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारणभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा नरेश प्रसाद श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् ।

महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ ।

यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अन्जु भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ निर्वाचित भए ।

कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो संख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको स्मरण गर्दै नेपाल रसिया चेम्बरका माध्यमले यसलाई नयाँ आयाम दिन आफूहरु लागिपर्ने बताए ।

रुससँग अहिले नेपालको व्यापारघाटा उच्च रहेकाले नेपालबाट निर्यात वृद्धिका लागि पहल गर्ने र पुँजी र प्रविधिसहितको रसियन लगानी नेपाल भित्र्याउने तथा नेपालमा रसियाली पर्यटकको भ्रमण बढाउने संघको लक्ष्य रहेको अध्यक्ष शेरचन बताउँछन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा रसियासँग नेपालको रसियासँग नेपालको व्यापारघाटा ५ अर्ब ४४ करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । सो अवधिमा रसियाबाट नेपालतर्फ ५ अर्ब ६५ करोड २८ लाखको सामग्री भित्रँदा नेपालबाट भने १९ करोड ८३ लाख रुपैयाँका वस्तुमात्र निर्यात हुन सकेको छ ।

हाल नेपालबाट रुसतर्फ चिया, यार्सागुम्बा, अगरवत्ति, काठका ह्यांगर, फेल्टजन्य उत्पादन, कार्पेट, तयारी पोशाक, पश्मिना, ज्वेलरीलगायतका वस्तु निर्यात भइरहेका छन् भने रसियाबाट नेपालमा ड्राइ फ्रुट्स, सनफ्लावर सिड्स, तोरी, भटमास, कच्चा खाने तेल, चकलेट, लुब्रिकेन्ट आयल, सौंन्दर्य प्रशाधन लगायतका वस्तु आयत हुने गरेको छ ।

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको हो ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह