Logo

अर्थनीति

सीईओ रेग्मीले पर्यटन बोर्ड धरासायी बनाएपछि कर्मचारीहरु पेन डाउनमा


GDP Nepal
   ७ आश्विन २०७९, शुक्रबार


काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको अक्षमताका कारण संस्था नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बदनाम बन्दै गएको भन्दै कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् ।

बोर्डका कर्मचारीहरुले ५ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका छन् । आन्दोलनको सुरुमा उनीहरुले पेन डाउन गर्ने भएका छन् ।

बोर्डका विवादास्पद कार्यकारी प्रमुख रेग्मीको मनोमानी कारण संस्थामा आर्थिक तथा प्रशासनिक अराजकता उत्पन्न भएको तथा यसले मुलुकको पर्यटन क्षेत्रमा सरकार र निजी क्षेत्रबीच पुलको काम गर्ने बोर्ड नै बदनामीको शिकार बन्दै गएको उनीहरुको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन र नेपाल पर्यटन बोर्ड कर्मचारी यूनियनले संयुक्त रुपमा ५ बुँदे माग राखेका हुन् । पर्यटन बोर्ड कार्यकारी समितिको ध्यान आकृष्ट गर्न राखिएका मागहरु मूलतः कर्मचारीको हितभन्दा संस्थाको सुधारमा केन्द्रित रहेको जनाइएको छ ।

कर्मचारीहरुले पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बन्द भएको राजश्व कार्यलय तत्काल सुचारु गर्नुपर्ने पहिलो माग राखेका छन् भने दोस्रो मागमा पर्यटक सेवा शुल्क (टीएसएफ)सम्बन्धी विवाद समाधन गर्न भनेका छन् ।

यस्तै, नेपाल पर्यटन बोर्डको चालू आर्थिक वर्ष २०७९–८० को आम्दानी प्रक्षेपण स्वाभाविक, प्राकृतिक, यथार्थपरक र वस्तुपरक हुने गरी बजेट तर्जुमा गर्नुपर्ने उनीहरुको माग छ ।

बोर्डको उद्देश्य अनुकुल विदेशी पर्यटकको आगमन वृद्धि गरी विदेशी मुद्रा भित्र्याई सरकार र पर्यटन व्यासायीलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेट केन्द्रित गर्न पनि माग गरिएको छ ।

कर्मचारीहरुले हाल नेपाल सरकारले निर्णय गरेको तलब बृद्धि नेपाल पर्यटन वोर्डमा पनि लागू गर्न माग गरेका छन् ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह