Logo

बिजनेस होम

चाडपर्वमा ग्यास बिक्री सहज गराउन एलपी ग्यास उद्योग संघ र बिक्रेता महासंघबीच सहमति


GDP नेपाल
   १३ आश्विन २०७९, बिहिबार


चाडपर्वलाई सहज गराउन नेपाल ग्याँस उद्योग संघ र ग्याँस बिक्रेता महासंघबीच एक आपसमा सहमति भएको छ ।

दुई पक्षबीच चाडपर्वलाई लक्षित गर्दै अब दसैंमा ग्याँसको बिक्रि वितरणमा एकरुपता कायम गर्ने र एउटै मूल्यमा बिक्री हुनुपर्ने सहमति भएको छ ।

ग्याँस बिक्रेता महासंघका अध्यक्ष चन्द्र बहादुर थापाले एकल मूल्य कायम गर्ने सवालमा महासंघ र ग्याँस उद्योगी एक ठाउँमा उभिएको बताए । नेपाल एलपी ग्याँस उद्योग संघले ग्याँस बिक्रेता महासंघका नवनिर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको सम्मान र दसैंको शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लीले ग्याँस उद्योगी र ग्याँस बिक्रेता महासंघबीचको सम्बन्ध नङ मासु जस्तो रहेकाले एक आपसका समस्या समाधानमा उद्योगी र ग्याँस बिक्रेता एक हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लीले दुई पक्ष एक सिक्काका दुई पाटा भएकाले समस्यालाई एक आपसको छलफलबाट नै समाधान गर्न उत्तम रहेको जनाए । सरकारको नजरमा भने एलपीजीलाई हेर्ने नजर पूरानै रहेको बताउँदै उनले सरकार एवं आयल निगमले एलपीजीको योगदानलाई अवमूल्यन गर्ने र यसबारे नकारात्मक धारणा राख्ने कार्य तत्कालै हटाउनु पर्ने जनाए ।

यस्तै, उनले उद्यमी र ग्याँस बिक्रेताले भने व्यवसायबाट अत्तालिएर पलाएन नै हुन्छौ भन्ने सोच आजैबाट त्याग्नुपर्ने आवश्यक रहेको बताए । लामो समयदेखि ढुवानी भाडा र पेट्रोलियम पदार्थको भाडा समायोजन नहुँदा उद्योग संचालनमा निकै कठिनाई भएको बताउँदै उनले सरकारले यस तर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै, मल्लीले सरकारले ग्याँस उद्योगीको समस्या समाधान गर्ने भन्दा पनि पन्छाउँदै अघि बढ्ने कार्य गरेको आरोप लगाए ।

कार्यक्रममा एलपी ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले मुलुकको आर्थिक गतिविधिमा ग्याँस उद्यागीहरुको भूमीका निके ठूलो रहेको बताए ।

मुलुकमा ठूला ठूला विपत आइपर्दा ग्याँस उद्यागीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले भने,” मुलुकमा विपत आइपर्दा ग्याँस उद्यमीहरुले महत्वपूर्ण योगदान दिँदै आएका छन् । राज्यले उनीहरुलाई हेर्ने हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ ।”

त्यस्तै, कार्यक्रममा एलपी ग्याँस उद्योगका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगी र ग्याँस बिक्रेताबीच विगतमा केही फाटो आए पनि अबका दिनमा एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

संघका पूर्व अध्यक्ष सावरमल अग्रवालले ग्याँस बिक्रि वितरणमा एकरुपता ल्याउन बिक्रता महासंघलाई आग्रह गरे । उनले तराई र पहाडमा ग्याँसको मूल्यमा एकरुपता हुनुपर्नेमा जोड दिँदै उद्योगी र बिक्रेताबीच रहेका सम्पूर्ण समस्या एक आपसमा छलफल गरेर हल गर्नुपर्नेमा जोड दिए ।

यस्तै, सो अवसरमा एलपी ग्याँस उद्योगका संस्थापक अध्यक्ष हरी पाठकले महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई र सफल कार्यकालको शुभकामना सहित एकढिक्का भएर अघि बढ्न आग्रह गरे ।

 

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह