Logo

विकास / पूर्वाधार

बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा


GDP नेपाल
   ८ कार्तिक २०७९, मंगलबार


पहिराका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन् ।

बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो ।

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी जनशक्ति खटिएको बताउनुभयो । नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए ।

“अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौँ, यसले तिहारको समयमा कर्णालीवासीलाई राहत भएको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो । कर्णालीवासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिनुभयो ।

प्रकाशित : ८ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह