काठमाडौं । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधीमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् ।
सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वत धाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ । शाश्वत धाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ ।
मंसिर २१ गते विहान ११ बजे हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ वर्षिया वृद्धा लोकलक्ष्मी आचार्य २० औं लाख दर्शनार्थीका रुपमा शाश्वत धाम प्रवेश गरेकी थिइन् । उनलाई शाश्वत धामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ । उनीलगायतका शुक्रबार शाश्वत धाम पुग्ने दर्शनार्थीलाई पञ्चेवाजा, स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको छ ।
‘यो मेरो जीवनकै विर्सिन नसक्ने क्षण बनेको छ’ आचार्यले भनिन्, ‘शाश्वत धामको महत्व सुनेकी थिएँ । आज यस भगवानको मन्दिरमा मलाई प्राप्त भएको सम्मान मेरो हृदयमा सदा सदाका लागि रहनेछ ।’
पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । नेपाली कला, सँस्कृती एवं सनातन धर्मको प्रवर्धन गर्न शाश्वत धाम निर्माण गरिएको हो । शाश्वत धाममार्फत् आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गरि नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष रहेको छ ।
‘हामी शाश्वत धाममा धेरैभन्दा धेरै दर्शनार्थी एवं पर्यटकलाई स्वागत गर्न चाहान्छौँ’ चौधरी ग्रुपका अध्यक्ष एवं शाश्वत धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने, ‘सनातन धर्मप्रति आस्थावान सम्पूर्ण नेपालीहरूको भावनालाई सम्मान गर्दै हामी शाश्वत धाममा थप सम्पदाहरू विस्तार गर्न प्रतिवद्ध छौँ ।’ अध्यक्ष चौधरीले स्वदेशी एवं विदेशी पर्यटकहरूका लागि शाश्वत धाम नेपालकै सर्वाधिक आकर्षक गन्तव्यस्थलमध्येको एक बन्ने विश्वास पनि व्यक्त गरे ।
केही दिन अघि मात्रै शाश्वत धाममा बुद्ध चैत्य र बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । यहाँ बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय रहेको छ । यसअघि नै यहाँ हिन्दू धर्मका बारेमा विस्तृत जानकारी दिने धार्मिक संग्राहलय स्थापना गरिएको थियो । शाश्वत धाम सनतन धर्मको रिसर्च सेन्टरका रुपमा समेत विकास भएको छ ।
चौधरीका पिता लुंकरणदास चौधरीले वि.सं. २०५९ फागुन महिनामा शिलान्यास गरेको शाश्वत धाम निर्माणको अभिभारा विनोद चौधरीले वि.सं. २०७३ फागुन महिनामा पूरा गरेका हुन् । विभिन्न धर्मका धर्मगुरुहरु, विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण माझ आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरले २०७३ साल फागुन २४ गते एकम्वरेश्वर शिव मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही दिन शाश्वत धामको विधिवत् उद्घाटन गरेसँगै सर्वसाधारणका लागि खुला गरिएको थियो ।
पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् ।
यहाँ रहेका अर्गानिक फार्म, अर्गानिक भोजनालय, आवासीय सुविधासहितको योग तथा ध्यान केन्द्र आदिको भरपूर उपयोग गर्न पाइने हुनाले यस मनमोहक स्थानमा पुग्ने जो कोहीले थकान र तनावबाट मुक्ति पाई आत्मिक शान्तिको महसुस गर्न पाउँछन् ।
आधुनिक भौतिकवादी युगमा लोप हुँदै गएको सनातन धर्मको महत्व जोगाउन र मन्दिरमा दैनिक पूजाआजा तथा वैदिक कर्मकाण्ड अभ्यास गर्न शंकराचार्यकै सुझाव बमोजिम यहाँ स्थापना गरिएको गुरुकुल अहिले वैदिक कर्मकाण्ड अध्ययनको थलो बनेको छ । यसका साथै काञ्ची कामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफ लिभिङ लगायतका धार्मिक संघ संस्थासँग समन्वय गरी नेपालमा सनातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वत धामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
शाश्वत धाम स्थापनाको उद्देश्य ज्ञान, भक्ति, कर्म र राजयोगमार्फत् मानिसमा शारीरिक तन्दुरुस्ती, आध्यात्मिक चेतना र आत्मिक शान्ति दिलाउनु पनि भएको धाम व्यवस्थापनले जनाएको छ । यहाँ पुग्ने जो कोहीले आफूलाई ईश्वरीय सेवा, साधना र सत्संगमा सरिक गराउन पाउँछन् ।
प्रतिक्रिया