Logo

विकास / पूर्वाधार

अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण


GDP नेपाल
   २३ मंसिर २०७९, शुक्रबार


गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।

तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७३ भदौ ३१ मा सम्झौता भई निर्माण सुरु भए पनि काम हुन सकेन । कूल रु १४ करोड ६७ लाखमा पक्की पुल बनाउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार पक्की पुलको निर्माण २०७६ चैत ३० मा सम्पन्न हुनुपर्ने हो तर, अहिले सम्झौता भएको तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी खारेज भएको छ । अहिले मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीले यो आयोजना हेर्ने गरेको छ ।

निर्माण कम्पनीका सम्पर्क व्यक्ति सुरेन्द्र लम्सालले भूगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताउनुभएको छ । “भुगोलका कारण निर्माण सामग्री निर्माणस्थलसम्म लैजान पनि समस्या भइरहेको छ”, उहाँ भन्नुभयो, “कालीगण्डकी नदीको बहाव बढ्ने भएकाले वार्षिकरुपमा तीन महिना मात्र काम गर्नुपर्ने अवस्था छ ।” पछिल्लो तोकिएको समय अवधिसम्म काम सक्ने गरी आफूहरु लागिरहेको उहाँको दाबी छ ।

मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी वीरेन्द्रप्रकाश तेलीले पनि कालीगण्डकी पुलको निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो । उहाँले नदीमा पानीको बहाव बढी हुने र एक वर्षमा करिब तीन महिना मात्र काम गर्न सकिने भएकाले समयमै काम गर्न निर्माण व्यवसायीले नसकेको बताउनुभयो । बीचमा कोभिडका कारणले समेत समस्या भएकाले निर्माण व्यवसायीलाई पनि दबाब दिन नसिकएको सूचना अधिकारी तेलीले स्पष्ट पार्नुभयो ।

सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधन अनुसार २०८० असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले उक्त अवधिसम्म कार्य सम्पन्न गर्नका लागि कार्यालयको ताकेता गरिरहेको छ ।

पुल समयमा निर्माण नहुँदा पूर्तिघाट र रानीपानीका स्थानीयलाई आवतजावतमा सास्ती भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले आफूहरुको बारम्बारको ताकेताले अहिले निर्माण व्यवसायीले केही चासो देखाएको बताउनुभयो । कालीगण्डकी नदीको बहाव वर्षायामअगावै नबढेमा पक्की पुलको आधार निर्माण गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता गरेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह