Logo

घुमफिर

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै


GDP नेपाल
   २५ मंसिर २०७९, आइतबार


आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो ।

चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । बहुबर्षीय योजनाअन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आर्कषण मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

कूल रु पाँच करोड लाग्ने अनुमानअनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँं सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आर्कषण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचूर सम्भावना देखिएको छ ।

त्यसैगरी गाउँपालिकाले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूना पर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजन गरेको छ । दुई वडाका गाउँलाई रु तीस लाखका दरले रु साठी लाख बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाइएको छ । कार्यविधि बनाएर मौलिक प्रकृतिका घरको संरक्षण गरिने अध्यक्ष चुमानले जानकारी दिनुभयो ।

उक्त स्थानमा अब बन्ने घर पनि मौलिक किसिमका हुनेछन् । उहाँले भन्नुभयो, “त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कलासंस्कृति पर्यटकका लागि आर्कषण बन्नसक्ने विश्वास गरेका छौँ।”

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह