Logo

बिजनेस होम

औद्योगिक क्षेत्रको भाडावृद्धि फिर्ता गर्न व्यवसायीको माग, फिर्ता नभए सशक्त आन्दोलन


GDP Nepal
   २६ मंसिर २०७९, सोमबार


काठमाडौं । औद्योगिक क्षेत्रभित्र गरिएको भाडावृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनरत व्यवसायीले भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले भाडा वृद्धि फिर्ता नभए मुलुकका १० वटै औद्योगिक क्षेत्रमा सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए ।

मंगलबार पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिले आयोजना गरेको कार्यक्रममा महासंघ अध्यक्ष पाठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नाफामुखी बनेको उल्लेख गर्दै एकतर्फी र अन्यायपूर्ण विभेदकारी भाडावृद्धिको सशक्त विरोध गरिने बताए ।

कार्यक्रममा कल्याण तथा सुरक्षा समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्रको भाडावृद्धिसम्बन्धी विषयमा उदासिनता देखाएको भन्दै आलोचना गरे ।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड वनाएर प्रत्येक पाँच वर्षमा भाडावृद्धि गर्नुपर्नेमा नियम विपरित २०७२ र २०७४ सालमा १५–१५ प्रतिशतका दरले भाडावृद्धि गरिएको भन्दै व्यवसायी आन्दोलित छन् ।

२०७५ सालमा एकै पटक ८ सय प्रतिशतसम्म भाडावृद्धि गर्ने कार्य नियमावली विपरित रहेको र यो कार्यान्वयन हुन नसक्ने महासंघ अध्यक्ष पाठक बताउँछन् । २०७५ सालदेखि स्थगित रहिआएको यो विषयलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हालको सञ्चालक समितिले जबरजस्ती कार्यान्वयन गराउन खोज्ने कुरा आफूहरुलाई मन्जुर नभएको उनको भनाइ छ ।

महासंघले गत साउन ३ गते १० सुत्रीय माग र १५ दिनको अल्टिमेटम सहित निवेदन पेश गरेकोमा साउन १५ गते उद्योगमन्त्री, सचिवसहितको उपस्थितिमा औद्योगिक क्षेत्रको भाडा लगायत तत्कालीन तथा दीर्घकालीन समस्या समाधान गर्न समिति गठन गरेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठित उक्त समितिले कुनै प्रतिवेदन नै नबुझाइ सकेको अवस्थामा पुनः रकम भुक्तानी गर्न ताकेता पत्र उद्योगमा पठाउने गरिएको व्यवसायीको भनाइ छ ।

व्यउवसायीहरुको तालुक मन्त्रालयवाट पनि औद्योगिक क्षेत्रको समस्या हाम्रो होईन भन्ने जस्ता गैह्रजिम्मेवारीपूर्ण जवाफ पाएको व्यवसायीहरु बताउँछन् ।

“हाम्रो शिष्ट व्यवहार र आचरण अनुसारको अनुरोधलाई सरकारबाट बेवास्ता गरेको कारण कडा विरोधका कार्यक्रम अगाडि सार्न बाध्य भएका छौं,” अध्यक्ष प्रधानले भने ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह