काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जोखिम मोल्दै २२५० मेगावाटका लागि विद्युत खरिद सम्झौता (पीपीए) खुला गरेको छ ।
प्राधिकरण सञ्चालक समिति बैठकले सीमित विद्युत् क्षमतासम्मका लागि टेक अर पेमा पीपीए खुला गरेको हो । वित्तीय व्यवस्थापन गर्न असम्भव भए पनि वाध्यतात्मक रूपमा प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
निजी प्रवद्र्धकहरूले हाल टेक एण्ड पेमा पीपीए गरिरहेको बेला प्राधिकरणले थप २ हजार २ सय ५० मेगावाटका लागि टेक अर पेमा पीपीए खुला गरेको हो । सन् २०१९ पछि विद्युत् खेर जाने भन्दै प्राधिकरणको प्रक्षेपणको आधारमा सीमित विद्युत् क्षमतालाई मात्र टेक अर पे मा पीपीए गर्न सुरु गरेपछि निजी क्षेत्रका लागि जलविद्युत् आयोजना बनाउन पीपीए अवरोधकको रूपमा देखिँदै आएको छ ।
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले यसअघि जारी श्वेतपत्रमा उल्लेखित आगामी १० वर्ष अर्थात २०८४(८५ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार मानिएको छ । सोहीअनुसार नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको माथिल्लो सीमा ३५ प्रतिशत अर्थात ५ हजार २ सय ५० मेगावाट नपुगसम्म १० वर्ष्भित्र व्यापारिक उत्पादन गर्ने आयोजनालाई टेक अर पे पीपीए गर्ने र टेक एण्ड पे प्रावधान राखी सम्पन्न भएका पीपीए संशोधन गर्ने निर्णय गरेको छ ।
श्वेतपत्र ल्याएलगत्तै ऊर्जा मन्त्रालयले १५ हजार मेगावाटलाई आधार मानी त्यसको ३५ प्रतिशत आरओआर टेक अर पे मा पीपीए गर्न प्राधिकरणलाई पत्र पठाएपनि बल्ल निर्णय भएको हो । जसअनुसार निर्णयका लागि गत जेठमै प्राधिकरण सञ्चालक समितिमा पेश भएको थियो । तर, विद्युत् खेर गएको अवस्थामा सरकारले बेहोर्ने ग्यारेण्टी नभएमा वार्षिक १ खर्ब २७ अर्ब रुपैयाँ प्राधिकरणलाई घाटा लाग्ने भन्दै यसको निर्णय गरिएको थिएन ।
प्रतिक्रिया