Logo

बिजनेस होम

हस्तकला महासंघको स्वर्ण वर्ष समापनः अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान अद्वितीय


GDP Nepal
   २८ मंसिर २०७९, बुधबार


काठमाडौं । नेपाल हस्तकला महासंघले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रमको बुधबार विधिवत अन्त्य गरेको छ । २०७८ मंसिर २८ गतेदेखि महासंघ स्वर्ण वर्षमा प्रवेश गरेको इतिहासको उपलक्ष्यमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।

बुधबार राजधानीमा महासंघले स्वर्ण वर्षको समापन तथा ११ औं हस्तकला दिवस शुभारम्भ गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर र हस्तकला पर्यायवाची रहेको उल्लेख गर्दै महानगरपालिका विश्वको ३५ औं हस्तकला सहर घोषणा हुनु गर्वको विषय भएको बताए ।

महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेको छ । सदस्यता प्राप्त गरेपछि हस्तकलामा राम्रो काम गर्ने सोचमा राखेको तर, सदस्यता प्राप्त गरे पनि कोभिड–१९ का कारण राम्रो काम गर्न नसकेको महर्जनले बताए । अब भने हस्तकला क्षेत्रमा महानगरको छलाङ मार्ने महर्जन दाबीको छ ।

मेयर महर्जनले ललितपुर क्षेत्रमा उत्पादित हस्तकलाका सामानहरू राख्ने कोसेली घर स्थापना पाटन ढोकामा व्यवस्थापन गरिएको जानकारी दिए । माघको पहिलो हप्ताभित्र यसको उदघाटन हुने उनले बताए ।

पर्यटनको बसाइ छोटिएको कारण हस्तकलाका सामानले बजार पाउन नसकेको उल्लेख गर्दै उनले बसाई लम्ब्याउन प्रयास गरिरहेको उनले जानकारी दिए । सार्वजनिक खरिद ऐनका कारण विद्युतीय बस ल्याउन ढिलाइ भएको उल्लेख गर्दै उनले यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललाई हरेक देशमा चिनाउने हस्तकला क्षेत्र भएको र यसमा मुलुकले गर्व गर्नुपर्ने धारणा राखे । उनले हस्तकला व्यवसाय लगायत औद्योगिक व्यावसायिक क्षेत्रमा देखिएको समस्या सम्बोधनका लागि महासंघले पहल गरिरहेको धारणा राखे ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले ललितपुर हस्तकलाको राजधानी भएको र यसको मौलिकतालाई बचाइराख्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिलेको संकटका कारण साना मझौला उद्योगमा बढी समस्या रहेको आफूहरुको अध्ययनले देखाएको उल्लेख गर्दै निकासीजन्य क्षेत्र हस्तकलाको महत्व विशिष्ठ भएकाले यस क्षेत्रको समस्या सम्बोधन जरुरी रहेको बताए । हस्तकलाका सामग्री घरेलु बजारमा पनि प्रयोगमा ल्याउनुपर्ने उनको भनाइ छ ।

महासंघ अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला ग्राम चाँडै सञ्चालनमा ल्याउनुपर्ने, हस्तकला क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने तथा निकासी वृद्धि र आन्तरिक खपतमा सरकारले सहयोग गर्नुपर्ने धारण राखे ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु तथा लामो समय सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह