आजदेखि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार सुरु भएको छ । राजधानीमा आयोजीत एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत कारोबारकाे शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मुख्यसचिव शंकरदाश बैरागी, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
यी दुई बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी पुगेको छ । यस्तै, बैंक सञ्चालक समितिमा ग्लोबल आईएमई बैँकको तर्फबाट ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आईएमई बैंकका सीइओ रत्नराज बज्राचार्य रहेका छन् ।
प्रतिक्रिया