Logo

विकास / पूर्वाधार

रुकुमगाड जलविद्युत् : काम सकियो, परीक्षण बाँकी


GDP नेपाल
   ८ माघ २०७९, आइतबार


रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो ।

आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ । यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकलअन्तर्गतको केही काम बाँकी रहँदा परीक्षणकार्यलाई दुई सातापछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पवरहाउसभित्रको दुईवटा युनिट, युनिट वान र युनिट टुमा ड्राफ्ट ट्युब फिक्स गर्नका लागि गरिएको कङ्क्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तीमा सात दिन लाग्ने भएको छ । त्यसपछि दुवै युनिटमा इलेक्ट्रोमेकानिकलअन्तर्गतको दुईवटा रनर, दुईवटा सफ्टसिल जोेड्नुपर्ने काम बाँकी हुँदा बाँधबाट पेनस्टक हुँदै पानी भर्ने काम केही समयपछि सरेको छ ।

यति काम सकिएको खण्डमा माघको २० गतेको आसपास आयोजनाको परीक्षण कार्य सुरु गरिने वरिष्ठ आयोजना प्रबन्धक त्रिपाठीले बताउनुभयो । रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च रु एक अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुआतीमा आएर सकिएको छ ।

बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।

प्रकाशित : ८ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह